सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुदैन : गृहमन्त्री

सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुदैन : गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललसहित सहभागी भएर चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनबारे जानकारी गराएका हुन् ।

त्यो कार्यक्रममा संविधान उल्ट्याउने र व्यवस्था हटाउने विषय कहीँ नलुकेको उनले बताए । समितिमा उनले भने, ‘चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन सक्दैन, संविधान उल्ट्याउने र व्यवस्थालाई हटाउने विषय कहीँ लुकेको छैन ।’

उनले संविधानको व्यवस्था मूल्य मान्यताभित्र गरेर गरेका आन्दोलनको सरकारले सदैव स्वीकार गरिरहेको र गर्ने बताए । उनले भने, ‘संविधान उल्ट्याउने षड्यन्त्रको साथ फागुन ७ गतेको अभिव्यक्ति, २५ गतेको प्रदर्शन भएको कुरा कहीँ लुकेको छैन । यो नियोजितरूपमा अराजकता फैलाउने काम नै हो । यसमा कुनै विवाद छैन ।’

आन्दोलनका नाममा निजी सम्पत्ति, सवारी साधन, सरकारी कार्यालयमा आक्रमण गरी विध्वंसात्मक कार्य गर्ने कुनै राजनीतिक दर्शनभित्र नपर्ने भन्दै उनले त्यस्तो कार्य चैत १५ गते तीनकुनेमा कार्यक्रम गर्नेहरूले गरेको बताए ।

बुधबारको बैठकमा समिति सदस्यहरूले राजावादीको प्रदर्शनका भएको घटनाका विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि समितिले आज बैठकमा गृहमन्त्रीलाई बोलाउने निर्णय गरेको थियो ।