इजरायलमा यहुदी–अरब सहकार्यको माग

इजरायलमा यहुदी–अरब सहकार्यको माग


ग्लोब नेपाल
81
Shares

इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका बेला अरब दलहरूले विपक्षी समूहसँग सहकार्य गर्ने सङ्केत दिएका छन् । यहुदी र अरब समुदायको साझेदारीमा नयाँ सरकार बनाउन पनि दबाब बढेको छ ।

प्रारम्भिक अनुमानअनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले २६ सिट जित्ने देखिएको छ । उहाँको गठबन्धनले ५३ सिट पाउने अनुमान छ, जुन बहुमतका लागि आवश्यक ६१ सिटभन्दा कम हो । विपक्षी दलहरूले ४८ र अरब दलहरूले १९ सिट जित्ने अनुमान गरिएको छ । अहिले निर्वाचन आयोगले सैनिक, कैदी, स्वास्थ्यकर्मीलगायतका मतदाताको ‘दोहोरो खाम’ मा रहेका मतपत्र गणना गरिरहेको छ ।

बुधबार राति डेमोक्रेट्स पार्टीको नेतृत्वमा प्रदर्शनकारीहरूले यहुदी–अरब संयुक्त सरकार गठन गर्न माग गरेका थिए । पार्टीले समानता, न्याय र शान्तिमा आधारित भविष्यका लागि अरब दलसँग सहकार्य गर्न विपक्षी नेताहरूलाई आह्वान गरेको छ ।

डेमोक्रेट्सका नेता यायर गोलानले परिवर्तनको सरकार गठन गर्न विपक्षी समूहसँग बहुमत रहेको दाबी गर्दै अरब दलसँग वार्ता गर्न आग्रह गरेका छन् । उनले त्यसका लागि साहसी नेतृत्व आवश्यक रहेको बताए ।

अरब दलहरूको संयुक्त सूचीले पनि नेतान्याहुको सरकारको विकल्प बनाउन राजनीतिक सहकार्य गर्न तयार रहेको जनाएको छ । उसले अरब समुदायको अधिकारको मान्यता, विभेदकारी नीतिमा परिवर्तन र समानतामा आधारित साझेदारीको माग गरेको छ ।

विपक्षी नेता गदी आइसेनकोटले प्यालेस्टाइनसम्बन्धी नीति र इरानविरुद्धको कारबाहीजस्ता विषयमा सहमति जुटाउन चुनौती रहे पनि नयाँ सरकार गठनको प्रयास जारी राखेका छन् । उनले वर्तमान सरकारप्रति जनताको अविश्वास बढेको दाबी गरे ।

राष्ट्रपति आइज्याक हर्जोगले राजनीतिक दलहरूलाई पुनः निर्वाचनको सम्भावना टार्न आग्रह गरेका छन् । नेतान्याहुलाई सत्ताबाट बाहिर राख्ने विषयमा विपक्षी दलहरूबीच सहकार्यको सम्भावना रहे पनि नीतिगत मतभेद समाधान गर्नु चुनौतीपूर्ण देखिएको छ । नेतान्याहुले पनि नयाँ राजनीतिक समीकरण बनाएर सरकार गठन गर्ने सम्भावना कायमै छ ।