काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेस अहिले पनि सर्वोकृष्ट पार्टी भएको दाबी गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस सत्तामा रहे पनि नरहे पनि सत्यको पक्षमा उभिने पार्टी भएको स्पष्ट पारे।
“कांग्रेस सत्तामा भए पनि नभए पनि जायज कुरालाई जायज भनेर बोल्छ, अन्यायको विरोध गर्छ र खबरदार पनि गरिरहन्छ,” उनले भने।
डा. महतले कांग्रेसको लामो अनुभव र लोकतन्त्रप्रतिको प्रतिबद्धता अप्ठ्यारो अवस्थामा पनि अडिग रहने विशेषता भएको उल्लेख गरे। उनले नयाँ दलहरू असहज अवस्थामा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिमा रहेको भन्दै अधिकारको रक्षा तिनबाट सम्भव नभएको टिप्पणी गरे।
कार्यक्रममा बोल्दै उनले कांग्रेसले विगतमा केही गल्ती कमजोरी गरेको भए पनि जनताको खबरदारी सुन्ने र सुधार गर्ने पक्षमा रहेको बताए। “जनताको इच्छा अनुसार परिणाम दिन नसके पराजित हुनुपर्छ,” उनले थपे।
उनका अनुसार कांग्रेस बोल्नुपर्ने विषयमा स्पष्ट रूपमा बोल्ने, गलतलाई गलत भन्न सक्ने दल हो, जुन सहजभन्दा पनि अप्ठ्यारो अवस्थामा अधिकारको रक्षा गर्न सक्षम हुन्छ।
प्रतिक्रिया