काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गरेका छन् । मोदीले काठमाडौं आउन सक्दो कोसिस गर्ने भन्दै निम्ताका लागि ओलीलाई धन्यवाद दिएका छन् ।
ओलीले थाइल्यान्डको राजधानी बैंककमा भएकाे भेटवार्ताका मोदीलाई सगरमाथा संवादका लागि निमन्त्रणा गरेका हुन् ।
ओली र मोदीबीच ३५ मिनेट एक्लाएक्लै वार्ता भएको हाे ।
बैंककस्थित उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार शुक्रबारको भेटमा दुवै पक्षबाट कोही पनि अरु अधिकारी सहभागी भएनन् ।
दुई नेताहरुबीच भएको कुराकानीको विस्तृत विवरण आउन बाँकी छ । यद्यपि दुवै देशका विदेशमन्त्रीहरु बैंककमै हुँदा पनि भेटमा सहभागी गराइएन ।
भेटवार्ता कक्षबाट बाहिरिने क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने, ‘म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ । अहिलेलाई यति ।’
यस्तै भारतीय प्रधानमन्त्री माेदीले नेपालका समकक्षी ओलीसँगको भेटघाट फलदायी रहेकाे बताएका छन् । भेटवार्तापछि सामाजिक सञ्जाल एक्समा माेदीले भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको तथा ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल गरेकाे उल्लेख गरे ।
यसअघि उनीहरूबीच संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा गएकाे असोज ७ गते भेटवार्ता भएको थियो ।
प्रतिक्रिया