ओलीले ‘हिन्दी’ र मोदीले ‘नेपाली’ भाषामा गरे एक्समा पोष्ट

ओलीले ‘हिन्दी’ र मोदीले ‘नेपाली’ भाषामा गरे एक्समा पोष्ट



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनको साइडलाइनमा शुक्रबार ओली र मोदीबीच भेटवार्ता भएको हो ।

भेटवार्तापछि सामाजिक सञ्जाल एक्समा ओलीले ‘हिन्दी’ र मोदीले ‘नेपाली’ भाषामा पोष्ट गरेका छन् । प्रधानमन्त्री ओलीले भेटवार्तालाई ‘सार्थक र सकारात्मक’ बताएका छन् भने मोदीले ‘फलदायी’ भएको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले एउटै सन्देश नेपाली, अंग्रेजी र हिन्दी तीन भाषामा सामाजिक सञ्जाल एक्समा पोष्ट गरेका हुन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, “मेरो प्रिय मित्र, प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो, हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो । यस आत्मीय भेटवार्ताप्रति म खुसी व्यक्त गर्दछु ।”

प्रधानमन्त्री ओलीले जसरी नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ओलीसँगको भेटवार्ताबारे एउटै सन्देश अंग्रेजी र नेपाली गरी दुई भाषामा सामाजिक सञ्जाल एक्समा पोष्ट गरेका छन् ।

“बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ,” भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन् ।

भेटमा भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल भएको मोदीले उल्लेख गरेका छन् ।

“हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुन्द्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं,” मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।