काठमाडौं । राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईं ‘भाग्दैन तर लुक्छ’ भन्ने शब्द अहिले सामाजिक सञ्जालमा ट्रोल बनेको छ । निषेधित क्षेत्र तोडेर प्रहरी पक्राउबाट बच्न उनी रणमैदानबाट कसरी गायब भए ? उनी कहाँ छन् ? प्रसाईंको खोजी अहिले प्रहरीको टाउको दुखाइ भएको छ । उनलाई भगाउन प्रयोग भएको गाडी र सहयोगीसँग प्रहरीले लिएको बयान यहाँ प्रस्तुत गरिएको छ ।
आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईं भक्तपुर, सिन्धुली हुँदै झापासम्म पुगेको प्रहरीले पत्ता लगाएको छ । काठमाडौंको तीनकुनेमा प्रहरीलाई पेलेर गाडी हुइँक्याउँदै निषेधित क्षेत्र तोडेका प्रसाईंलगत्तै सुरक्षाकर्मीको नियन्त्रणमा थिए ।
उनको बागमती प्रदेश ०२७ च ३८४७ नम्बरको गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । तर, प्रसाईंलाई प्रहरी कार्यालयतिर ल्याउने क्रममा भिड बढ्न थाल्यो र उनलाई सुरक्षागार्ड दिपक खड्का आफूतिर तान्न सफल भएका थिए । त्यसपछि प्रसाईं तीनकुनेबाट पेरिसडाँडा जाने बाटोमा सटरभित्र लुकेका थिए ।
प्रसाईं सटरबाट निस्किएर अपराह्न ३ः २६ बजे बीएबी ४२०८ नम्बरको गाडीमा पेरिसडाँडा जाने बाटो हुँदै प्रदर्शनस्थलबाट निस्किएका थिए । त्यसपछि फरार भएका उनको यो गाडी प्रहरीले मोरङमा फेला परेको थियो । गाडीमा बसेका दुई जनालाई समेत प्रहरीले इटहरीबाट पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार, पक्राउ पर्नेमा गाडी धनी मुकुन्द दाहाल र चालक ईश्वर विक रहेका छन् ।
प्रसाईं चढेको गाडीको फोटो सार्वजनिक भएपछि प्रहरीले यसका सञ्चालकलाई ट्र्याक गरेको थियो । त्यसक्रममा दाहाललाई इटहरीबाट उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले समातेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । यस्तै विकलाई पनि त्यहीँबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
‘शुक्रबार बेलुकीसम्म उनलाई समात्ने भन्ने स्पष्ट आदेश थिएन, त्यसैले उनले मौका पाए’, एक अनुसन्धान अधिकृत भन्छन्, प्रसाईं चढेको गाडी भने दाहालले मोरङस्थित आफ्नो ससुरालीमा लगेर राखेको पाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । ‘त्यो गाडी पनि बरामद गरेका छौं’, स्रोतले भन्यो । काठमाडौं ल्याएपछि पक्राउ परेका दाहाल र विकले आफूहरूले प्रसाईंलाई त्यहाँबाट सिधै झापा लगेको बयान दिएका छन् ।
‘बिहान साढे ५ बजेतिर उनीहरूले बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजमा पुर्याएको भनेका छन्’, स्रोतले भन्यो, ‘त्यहाँ छाडेर दुई जना इटहरीतिर फर्किएको बयान दिएका छन् ।’
अस्पतालमा कार्यरत एक जना कर्मचारीले समेत प्रसाईंलाई त्यहाँका गार्डहरूले ‘स्ल्युट’ गरेको देखेको भनेका छन् । पक्राउ परेका दुई जनालाई भने काठमाडौं ल्याएर अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर, भद्रकालीको जिम्मा लगाएको छ ।
काँकडभिट्टामा सुरक्षा जाँच कडा भएकाले प्रसाईं बाहुनडाँगी वा भद्रपुर सीमा हुँदै भारत पुगेको अनुमान गरिएको छ । बाहुनडाँगीबाट नक्सल र भद्रपुरबाट भारतको गलगले पुग्न सकिन्छ । नक्सल पुगे भने उनी सिलगुढी र गलगले पुगे भने बिहारको पटना पुगेको हुनसक्ने अनुमान प्रहरीको छ । किनभने भारतको ती दुवै स्थानमा प्रसाईंलाई लुकाउने राजावादी कार्यकर्ता रहेका छन् । अर्कोतिर प्रसाईं बी एन्ड सी अस्पतालमा नै लुकेको हुनसक्ने प्रहरीले अनुमान पनि लगाएको छ । अस्पताल र विर्तामोड आसपासका क्षेत्रमा प्रहरीले विशेष निगरानी राखेको बताइएको छ ।
प्रतिक्रिया