काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो ।
शुक्रबार संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश भएको थियो ।
लगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो । उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर भोलि मात्रै भैरहवा लगिने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नुअघि लामिछानेले आफूले अदालतको सम्मान गर्दै आजै गिरफ्तारी दिन लागेको बताएका थिए ।
‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिंदैछु’ लामिछानेले भनेका थिए, ‘साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढक्याउँछु ।’
उनले आफूमाथि ठूलो अन्याय भएको पनि बताएका छन् । ‘ममाथि ठूलो अन्याय भएको छ,’ उनले भनेका छन् ।
साथै, भोलि चितवनमा आयोजना गर्न लागेको कार्यक्रम नरोक्न पनि पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनलाई थुनामै राख्ने जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई थुनामा पठाउने आदेश दिएकाे हाे ।
प्रतिक्रिया