बार चुनाव : मतगणना भाेलिदेखि

बार चुनाव : मतगणना भाेलिदेखि



काठमाडौं । नेपाल बार एशोसिएशनको २७औं केन्द्रीय कार्यसमितिका लागि भएको चुनावको मतगणना भोलिदेखि हुने भएको छ । बारको नयाँ कार्यसमितिका लागि हिजो मतदान भएको थियो ।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको मतपेटिका आज बेलुकासम्म काठमाण्डाै आइपुग्ने छ भने भोलिदेखि मतगणना शुरू गरिनेछ ।

बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको छ । २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो । काठमाण्डाै र बाहिर गरी ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो ।

बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवम् समावेशी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्र र व्यावसायिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

वरिष्ठ अधिवक्ता प्रा. डा. मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहनुभएको छ भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ ।