काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको सहमति आफू, गिरिजाप्रसाद र तत्कालीन राजा ज्ञानेन्द्रले गरेको बताएका छन् ।
आइतबार पार्टी कार्यालय आलोकनगरमा पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘यी जम्मै गर्ने हामी तीन जना हो । एउटा गिरिजाप्रसाद कोइराला, अर्को म र त्यसपछि ज्ञानेन्द्र, पछिमात्रै हुन् प्रचण्ड जी,’ उनले भने ।
उनले गणतन्त्र ल्याउने सहमति गरेपछि मात्रै माओवादी ‘जनयुद्ध’ छाडेर आएको बताए । गणतन्त्र ल्याउने निर्णय साउनमा गरिएको र माओवादी मंसिरमा आएको उनको भनाइ छ ।
उनले भने, ‘मंसिर महिनामा हामीले सहमति गरिसकेपछि मात्रै आएको हो। हाम्रो पार्टीले गणतन्त्र ल्याउने निर्णय गरेको साउन महिनामा हो। बसेर सहमति गरेको २०६३ सालको वैशाखको ११ गते हो । ११ गते बस्दा म र गिरिजाबाबु थियौँ। हामीले सबै सहमति गरेर कागज तयार गरेका हौं । सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो ।’
अध्यक्ष नेपालले पछिल्ला घटनाक्रमप्रति लक्षित गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको कुरा भनेको आफूले सुनेको बताए ।
‘अहिले राजा फर्काउने कुरा छैन, पूर्वराजाको इच्छा पनि होइन भनेपछि मन शान्त भएको छ । यदि त्यसो हो भने म पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छु,’ नेपालले भने, ‘राजनीति गर्नु छ भने पार्टी खोल्नूस् । जनताको बीचमा जानूस् । बहुमत ल्याउनूस् । देश र जनताको कल्याण गर्नुहुन्छ भने खुसीकै कुरो हो । हामीले त केपी ओलीलाई समेत राम्रो बन्नुस् भनिरहेका छौँ । हाम्रो सासै गन्हाउने, अनुहार नै मन नपराउने मान्छेलाई त राम्रो गरिदिनूस् भनिरहेका छौँ । हामीले कसैसँग आग्रह पाल्ने, पूर्वाग्रह राखेका छैनौँ ।’
राजावादीको आन्दोलनका बेला एमाले, कांग्रेस, माओवादी केन्द्रको पार्टी कार्यालयमा सुरक्षा दिए पनि आफ्नो पार्टी कार्यालयमा सुरक्षा नदिएको भन्दै नेपालले सरकारको आलोचना गरे ।
प्रतिक्रिया