काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन रवीन्द्र मिश्र र डा धवल शम्सेर राणाको रिहाइभन्दा कुलमान घिसिङको पूनर्वहालीमा बढी तत्पर देखिएपछि पार्टीभित्र असुन्तुष्टि चुलिएको छ ।
सरकारको ज्यादतीको विरोध र वरिष्ठ उपाध्यक्ष मिश्र, महामन्त्री राणाको निसर्त रिहाइका लागि आयोजित दबाबमूलक कार्यक्रम छलेर लिङ्देन झापा गए । यो कुरा बुझेपछि कार्यकर्ताहरु रत्नपार्कमा अध्यक्षविरुद्ध नाराबाजी गर्न तयार भएका थिए ।
‘विरोध कार्यक्रम शुक्रबार थियो, लिङ्देन बिहीबार साँझ झापा गए अनि शुक्रबार साँझ फर्किए । यो भन्दा ठूलो धोका के हुन सक्छ ? अध्यक्षलाई आफ्ना पार्टीका नेताभन्दा प्रचण्डको गणतान्त्रिक लाइनको कुलमान प्यारो भयो । धिक्कार छ यस्तो पार्टी र नेतृत्वलाई,’ काठमाडौं जिल्लाका एक राप्रपा नेताले भने ।
संसदमा बोल्ने क्रममा पनि लिङ्देनले मिश्र र राणाको रिहाइको माग गरेनन्, उनीहरुको नाम नै उच्चारण गरेनन् ।
राप्रपाको बागमती प्रदेश समितिले आयोजना गरेको चैत्र २६ गतेको काठमाडौंको कार्यक्रममा समेत लिङ्देन गम्भीर देखिएका छैनन् । कार्यक्रमको चाँजोपाँजो नमिलाएर उनी आफ्ना गुटका केही सदावहार वक्ता बोकेर बर्दिया र दाङ घुम्दैछन् ।
राप्रपा नेताहरुले बताए अनुसार, राष्ट्रिय मानव अधिकार आयोगमा न्यायिक छानबिन आयोग गठनबारे ज्ञापनपत्र उनले गुपचुप बुझाउन लगाए जबकी पार्टीमा अध्यक्ष, पूर्वअध्यक्ष, वरिष्ठ नेताहरुको टोली मानव अधिकार आयोग जाने सल्लाह थियो ।
मिश्र र राणा हिरासतमा परेपछि लिङ्देन गुट धर्मसंकटमा छ । ‘भित्र परे वेश भयो भन्ने सोँच पाले पनि मिश्र र राणा जनआन्दोलनबाट ठूलो नेता बन्ने भए भनेर चिन्तित छन्,’ राप्रपाका एक केन्द्रीय सदस्यले भने ।
प्रतिक्रिया