काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूको जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै शिक्षा ऐन अविलम्ब जारी गर्न सरकारको ध्यानाकर्षण गराएकाे छ ।
सोमबार पार्टीका प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गर्दै शिक्षा ऐन अविलम्ब जारी गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
‘हाम्रो पार्टीबाट तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार र नेपाल शिक्षक महासंघबीच २०८० असोज ५ गते र १२ गतेको मितिमा भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न जोडदार माग गर्दछ । यस विषयलाई प्राथमिकतामा राखी विशेष अधिवेशन या अन्य उपायबाट विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकहरूलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन पनि सरकार सहित सम्बद्ध सवै पक्षसँग हार्दिक अपिल गर्दछौं । साथै, शिक्षकहरूको मागप्रति ऐक्यबद्धता व्यक्त गर्दै आम जनसमुदायमा समेत शिक्षकहरूको आन्दोलनका पक्षमा उभिन आह्वान गर्दछौं,’ सापकोटाद्वारा विज्ञप्तिमा भनिएको छ ।
माओवादी केन्द्रले संविधानतः आम नागरिकले शिक्षा प्राप्त गर्न पाउने अधिकार सुनिश्चित भए पनि आवश्यक कानुनी र नीतिगत संरचना निर्माण नहुँदासम्म संघीयताको मर्म अनुरूप शैक्षिक क्षेत्रको पुनर्संरचना हुन नसक्ने बताएको छ । निजामती, शक्षा, स्वास्थ्य, प्रहरीलगायतका ऐनहरू जारी भई कार्यान्वयन हुनुपर्ने खाँचो पनि औंल्याएको छ ।
‘यसलाई सर्वाधिक महत्त्व दिएर हाम्रो पार्टी नेतृत्वको सरकारले कैयन जटिलताबीच विद्यालय शिक्षा विधेयक तर्जुमा गरी व्यवस्थापिका संसदमा दर्ता गरेको विदितै छ। त्यसक्रममा नेपाल शिक्षक महासंघसँग ५ बुँदे र ६ बुँदे सहमति भएको स्मरणीय छ ।
उक्त सहमतिअनुरूप तर्जुमा भएको विधेयकलाई महत्त्व दिएर यथाशीघ्र पारित गर्नुपर्नेमा कांग्रेस र एमालेको गठबन्धन सरकारले हजारौं शिक्षक र लाखौं विद्यार्थीको पेशा तथा भविष्यमाथि खेलवाड गर्नु निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया