कालो मास्क लगाएर शिक्षकहरूकाे मौन प्रदर्शन

कालो मास्क लगाएर शिक्षकहरूकाे मौन प्रदर्शन

जायज मागहरू लिएर आउँदाखेरि आन्दोलन गरिरहनुपर्दैन हामी त्यसको समाधान दिन्छौ : प्रधानमन्त्री



काठमाडौं । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् । २० चैतदेखि काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आज काठमाडौंको माइतीघरमा कालो मास्क लगाएर जुलुस निकालेका हुन् ।

यसअघि शिक्षकहरू कहिले सडकमै सुतेर प्रदर्शन त कहिले सिटी फुकेर सडकबाट सरकारको ध्यानाकर्षण गर्दै आएका छन् ।नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरुले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् ।

१५ वटा शिक्षक संघ-संगठनहरूले नेपाल शिक्षक महासंघको काठमाडौँ केन्द्रित आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ, अध्यक्ष राष्ट्रिय शिक्षक मञ्च, संघीय शिक्षक फोरम, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, मधेशी शिक्षक फोरम लोकतान्त्रिक, लोकतान्त्रिक शिक्षक युनियन एका, नेपाल राष्ट्रिय शिक्षक परिषद्, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन, मधेशी आदिवासी शिक्षक संरक्षण मञ्च, नेपाल विद्यालय कर्मचारी परिषद् र संस्थागत विद्यालय शिक्षक युनियनले विज्ञप्ति जारी गर्दै महासंघको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।

ती संघ-संगठनहरूले विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित सडक आन्दोलनमा सहभागी हुन देशभरिका शिक्षकहरूलाई आग्रह समेत गरेका छन् । शिक्षक आन्दोलन अवधिभर उत्तर पुस्तिका परीक्षण नगर्न आग्रह गर्दै तालिम, गोष्ठी, सेमिनार तथा सार्वजनिक कार्यक्रमहरूमा समेत सहभागी नहुन उनीहरूले शिक्षकहरूसँग आग्रह गरेका छन् ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरू संवादमा आउने बित्तिकै माग सम्बोधन गर्ने पनि बताए । सोमबार काठमाडौंमा भएको ‘हिमालयन डाइलग’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले शिक्षक आन्दोलन चलिरहेको भन्दै किन चलाएको हो ? भनेर प्रश्न समेत गरे ।

‘अहिले शिक्षक आन्दोलन चल्या छ । किन चलाउनुभएको हो शिक्षक साथीहरूले ? मलाई थाहा छैन । म प्रधानमन्त्री छु, भनिराखेको छु । जायज मागहरू लिएर कोही आउँदाखेरि आन्दोलन गरिरहनुपर्दैन हामी त्यसको समाधान दिन्छौ’, ओलीले भने, ‘हामी त्यसलाई सम्बोधन गर्न तयार छौ । दु:ख पाउनुपर्दैन, सडकमा गएर सुत्नै पर्दैन भनिराखेका छौ उहाँहरूले किन दु:ख पाउनुभएको हो ?’