हङकङमा टी-२०आई प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाइ

हङकङमा टी-२०आई प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाइ



काठमाडौं । हङकङमा सुरु हुने टी-२०आई प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा बोल्दै कप्तान रोहित पौडेलले तयारी राम्रो भइरहेको उल्लेख गर्दै सक्दो राम्रो खेलेर जितेर फर्कने बताए ।

त्यस्तै यस शृङ्खलाका लागि नेपालको प्रशिक्षक रहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अभ्यास राम्रो भएको र आगामी महत्त्वपूर्ण खेलका लागि राम्रो तयारी हुने बताएका छन् ।

आयोजक हङकङसहित नेपाल, कुवेत र कतार सहभागी हुने यस प्रतियोगितामा सबै टोलीले एकअर्कासँग १-१ खेल खेलेपछि चार टिममध्ये शीर्ष २ टोली फाइनल खेल्नेछन् ।

यस शृङ्खलाका लागि कप्तान रोहित पौडेलको कप्तानीमा टोली घोषणा भएको छ जसमा केही खेलाडीले पुनरागमन पनि गरेका छन् ।

टोलीमा कप्तान रोहितसँगै दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, सोमपाल कामी, ललित राजवंशी, कुशल मल्ल, करण के.सी, बसिर अहमद, साहब आलम, नन्दन यादव, रिजन ढकाल, गुलशन कुमार झा र लोकेश बम छन् ।

नन्दन पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् भने बसिर र साहब दुवै सन् २०२२ पछि पहिलोपटक टी-२०आई टोलीमा फर्किएका हुन् ।