योगी आदित्यनाथलाई सभापति देउवाले दिए धन्यवाद

योगी आदित्यनाथलाई सभापति देउवाले दिए धन्यवाद



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई धन्यवाद ज्ञापन गरेका छन् ।

नेपालका राजावादीले व्यवस्थाविरुद्धको आन्दोलनमा आफ्नो फोटो बोकेको केही दिनमै आदित्यनाथले दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालको गणतान्त्रिक व्यवस्थामा आफ्नो समर्थन रहेको र व्यवस्थाविरोधीप्रति कुनै समर्थन नरहेको बताएको भन्दै देउवाले उनलाई धन्यवाद दिएका हुन् ।

सोमबार गणेशमान सिंह फाउण्डेशनले आयोजना गरेको ‘नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले पुर्‍याउनुभएको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बल्दै उनले भने, “यहाँ राजावादी आन्दोलनमा योगी आदित्यनाथको फोटो प्रदर्शन गरेका थिए । मलाई थाहा छ, भारतीय नेताहरूको राजावादी आन्दोलनमा कुनै समर्थन छैन । नेपालको गणतन्त्रमा आफ्नो पूर्ण समर्थन रहेको र आफू नेपालको संविधान र व्यवस्थाविरुद्ध नरहेको भनी नयाँ दिल्लीस्थित नेपाली दूतावासमै पुगेर आफ्नो प्रतिबद्धता राखिसक्नुभएको छ ।”

देउवाले गणतन्त्रप्रतिको प्रतिबद्धताका निम्ति भारतीय नेताहरूलाई पनि धन्यवाद दिए ।

देउवाले नेपालमा प्रजातन्त्र ल्याउन भारतीय नेता चन्द्रशेखरको ठुलो योगदान रहेको बताए । उनले चन्द्रशेखर र गणेशमान सिंहबिच राम्रो सम्बन्ध रहेको र त्यो सम्बन्धले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निकै सहयोग प्राप्त भएको बताए ।

उनले भने, ‘चन्द्रशेखरजी नेपालमा आएपछि नेपाली आन्दोलनकारीमा निकै उत्साह थपिएको थियो र त्यसपछि देशमा ठुलो आन्दोलन भएको थियो ।’

नेपालमा राजा ल्याउन भारतको हात रहेको भन्ने आशङ्का भ्रम मात्र रहेको बताउँदै यसबारे भारतीय दूतावासले भारतको कुनै हात नरहेको स्पष्ट पारिसकेको उनले बताए । नेपाली जनताले जे चाहन्छन् त्यसमा भारतको समर्थन रहने कुरा स्पष्ट पारिसकेको बताउँदै देउवाले भारत नेपालको गणतन्त्रको पक्षमा छ भन्ने आफूलाई विश्वास लागेको बताए ।

सभापति देउवाले भने, ‘नेपाल भारतबिच यस्तो सम्बन्ध छ कि पासपोर्टको आवश्यकता पर्दैन । नेपाल भारतबिचको सम्बन्धमा केही समस्या छैन । केही समस्या छ भने त्यसलाई छलफल गरेर समाधान गर्न सकिन्छ ।’

नेपाल र भारतबिच रोटी बेटीको सम्बन्ध रहेको बताउँदै उनले दुई देशबिचको सम्बन्ध त्यसैगरी अगाडि बढ्ने बताए । ‘कतिपय कुरामा नेपालले बढी आशा गर्नु स्वाभाविक कुरा हो, त्यसमा भारतले अन्यथा लिनुहुँदैन, नेपाल भारतको खिलाफमा कहिल्यै छैन ।’

थाइल्यान्डमा नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीबिच भेटघाट भएको बताउँदै उनले त्यसले पनि दुई देशको सम्बन्धलाई बलियो बनाएको दाबी गरे । भारतले नेपालका प्रधानमन्त्रीलाई निम्तो दिएर बोलाएमा चाँडै भारत भ्रमण हुने समेत स्पष्ट पारे ।