काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छ्न् । भेटमा प्रधानमन्त्री ओलीले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताए ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा धरानका प्रमुख साम्पाङ सहितको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले धरानमा खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको बताएका हुन् ।
धरानको खानेपानीको समस्या दर्शाउँदै प्रमुख राईले समाधानको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
‘धरानबासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो। यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्याण्डफिलसाइट बनाउनुपर्ने बताए ।
यसअघि रित्तो गाग्री लिएर सिंहदरबार छिर्न खोजेका उनले खानेपानीमन्त्रीलाई भेटेर फर्किएका थिए ।

प्रतिक्रिया