वामपन्थीहरू एक ठाउँमा आउनुको विकल्प छैन : प्रचण्ड

वामपन्थीहरू एक ठाउँमा आउनुको विकल्प छैन : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार, बहस, विवाद र संघर्षबाट नै कम्युनिष्ट आन्दोलनको विकास हुँदै आएको बताएका छन् ।

मंगलबार प्रगतिशील लेखक संघको १३ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै एक पटक फुट भएपछि अब कुनै हालतमा कम्युनिस्ट एकता हुँदैन भनेर सोच्न नहुने बताएका छन् ।

विगतमा एमालेसँग पार्टी एकता गरेर बनाएको नेकपाको एकता जोगाउन नसकेको स्मरण गर्दै उनले भने, ‘हामीले दुई ठूला कम्युनिष्ट पार्टीहरुबीच एकता गरेको थियौँ । दुई तिहाइको नजिक पार्टी पुग्दा पनि हामीले सरकारबाट सबैले प्रशंसा गर्ने, इतिहासमा नाम रहने काम गर्न पनि सकेनौँ । र पार्टीको एकतालाई बचाउन पनि सकेनौँ । हामीले त्यसबाट शिक्षा लिनुको विकल्प छैन । हामीले वामपन्थी एकता र कम्युनिष्ट एकताको लागि प्रयास निरन्तर राख्छौँ ।’

उनले वामपन्थीहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताए । अहिले पनि वामपन्थीहरूको दुई तिहाइ बहुमत रहेको सुनाए ।

उनले भने, ‘हामी विभाजित पनि भयौँ, एक अर्कापनि तितो आलोचना पनि भइरहेका छन् । तर पनि एकताको झण्डा चाहिँ छाडेको छैन । वामपन्थीहरूले एक ठाउँमा आएर बहस गर्दै अगाडि बढ्नुपर्छ, एकताको झण्डा चाहिँ छोड्न हुँदैन भन्नेमा प्रष्ट छौँ । हाम्रो पार्टीले एकमतले पारित गरेको छ । हिजो विभाजन भएकाले अब एकता असम्भव छ भन्नु चाहिँ मार्क्सवादी सोचाइ हुँदैन । त्यो द्वन्द्वात्मक भौतिकवादी हुन सक्दैन ।’