लोकतन्त्र जनताको जीवनमा आउनुपर्छ : प्रधानमन्त्री ओली

लोकतन्त्र जनताको जीवनमा आउनुपर्छ : प्रधानमन्त्री ओली



जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा लोकतन्त्र आउनुपर्ने बताएका छन् । मंगलबार मधेस प्रदेशसभामा विशेष सम्बोधन गर्दै ओलीले राजनीतिक परिवर्तन जनताबाटै सम्भव भएको विषय बिर्सन नहुने बताए ।

“जनताको जीवनमा लोकतन्त्र आउनुपर्छ । सम्पूर्ण सामाजिक पक्षमा लोकतन्त्र फुल्नुपर्छ, फल्नुपर्छ । अनि मात्रै लोकतन्त्र अघि बढ्छ,” उनले भने ।

उनले प्रणाली देश र जनताको सेवामा प्रयोग हुनुपर्ने बताए । “यो प्रणाली देश र जनताको सेवामा प्रयोग हुनुपर्छ भन्ने बिर्सनुहुँदैन । राजनीतिक अधिकारलाई अझ विस्तार गरेर परिपूर्ण लोकतन्त्र,” उनी भन्छन्, “राजनीतिमा मात्र लोकतन्त्र भयो भने गरिबीको निरपेक्ष रेखामा बसेकालाई सरोकार हुँदैन ।”

जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन नसकिए र गरिबीबाट मुक्ति दिन नसकिए जनतालाई त्यसले नछुने उनले बताए । त्यसो गर्न नसकिए प्रणालीमाथि प्रश्न उठाउने ओलीको भनाइ छ ।

“निरपेक्ष गरिबीबाट आधारभूत आवश्यकता सहज पूर्ति भएको अवस्थामा पुर्‍याउनुपर्छ । यदि जैविक र मानवीय आवश्यकताको सहज परिपूर्ति गर्न सकेनौँ भने प्रणालीमा संकट आउँछ । प्रणालीले के दियो भनेर जनताले सोध्न थाल्छन्,” ओलीले भने ।

ओलीले विकासका लागि सुशासनमा ध्यान दिइनुपर्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले जनकपुरधाम-जयनगर रेल सेवा सञ्चालनमा आएपछि जनतालाई ठूलो सहयोग पुगेको बताए । उनले जयनगर-जनकपुर रेल सञ्चालनमा ल्याउनु ठूलो उपलब्धि भन्दै भने, ‘मैले रेलको कुरा गर्दा मानिसहरुले मजाक उडाएका थिए, तर जयनगर-जनकपुर रेल सञ्चालनमा ल्याएँ ।’

उनले जनकपुर आएर आफैंले टिकट काटेर रेल चढेको सुनाए । उनले भने, ‘जजसले विरोध गर्छन् । उनीहरुलाई सित्तैमा (आफैंले टिकट काटेर भए पनि) रेलमा कुदाइदिने भनेको थिएँ, तर कोही आएनन् । सुरुमा कुरा काट्ने र विश्वास नगर्ने गरिन्छ । विश्वास छैन भने केही गर्न सकिँदैन । विश्वास छ भने जस्तोसुकै काम सहजै गर्न सकिन्छ ।’

ओलीले सुशासन कायम राख्न सुझावसमेत दिए । उनले मधेशको उत्पादनले देश पाल्न सकिने भन्दै नयाँ प्रविधिको प्रयोग गरी उत्पादन बढाउनुपर्नेमा जोड दिए ।