दिउँसै टर्च बालेर शिक्षकले खोजे सरकार

दिउँसै टर्च बालेर शिक्षकले खोजे सरकार



काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले दिउँसै टर्च बालेर काठमाडौंमा प्रदर्शन गरेका छन् । सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै उनीहरूले दिउँसै टर्च बालेर सरकारकाे खाेजी गरेका हुन् ।

शिक्षकहरुले यसअघि कालोपट्टी बाँधेर, कालो मास्क लगाएर, सिट्टी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरूले पुराना ऐन खारेज गर, नयाँ ऐन जारी गर, लगायतका नारा लगाएका थिए ।

काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि प्रदर्शन गर्दै आएकाे छ । विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भएका हुन् ।

मंगलबार माइतीघरदेखि बानेश्वरसम्म टर्च बालेर प्रदर्शन गर्दै उनीहरूले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् ।

महासंघले आफूहरूको माग सरकारले नसुने थप कडा संघर्षको कार्यक्रम आयोजना गर्ने चेतावनी दिएको छ ।