माओवादीले गरेको ५ खर्बको क्षति प्रचण्डको सम्पत्तिबाट असुल्नुपर्छः ज्ञानेन्द्र शाही

माओवादीले गरेको ५ खर्बको क्षति प्रचण्डको सम्पत्तिबाट असुल्नुपर्छः ज्ञानेन्द्र शाही

जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता हुन्



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले माओवादी जनयुद्धमा भएको भौतिक क्षतिको रकम प्रचण्डको सम्पत्तिबाट असुल्ने बताएका छन् । प्रचण्डले आफ्नो परिवारलाई पदमा पुर्‍याउन देशले १५ खर्बको भौतिक क्षति व्यहोरेको उनको दाबी छ ।

राप्रपाले बल्खुमा मंगलबार गरेको आमसभामा बोल्दै प्रवक्ता शाहीले भने, ‘१० वर्षको युद्धमा देशले १ खर्ब ३० अर्ब, जुन आजको मूल्य ५ खर्ब हुन्छ, को भौतिक सम्पत्ति ध्वस्त पारेका छन् । त्यसको ब्याजसहित प्रचण्डको सम्पत्तिबाट असुल्नुपर्छ । के परिवर्तन भयो ? प्रचण्डकी बुहारी मन्त्री, छोरी मेयर, भाइ, ज्वाइँ, छोरो, नाति सबैलाई पदमा पुर्‍याउन यो देशले ३०५ खर्ब, आजको मूल्यमा १५ खर्ब १५ अर्बको भौतिक क्षति भोग्यो । त्यसको एक-एक हिसाब माओवादीले तिर्नुपर्छ ।’

शाहीले देशका ११ सय ठूला साना उद्योग माओवादीले बन्द गराएको तथा एक लाखभन्दा बढी घरेलु उद्योग सखाप पारेको आरोप लगाए । ६ लाखभन्दा बढीलाई बेरोजगार बनाएर बेल्चा हाल्न विदेश पठाइएको उनले बताए ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसदमा राजतन्त्र र गणतन्त्रको गलत डाटा प्रस्तुत गरेको आरोप पनि शाहीले लगाए ।

उनले भने, ‘विश्वप्रकाशजीले राजाका पालामा देश गरिब थियो, अहिले धनी भयो भन्नुभयो । उहाँको कानमा बज्नेगरी सुनाइदिनुहोला । २०४४ सालमा नेपालको प्रतिव्यक्ति आय १४६ डलर थियो भने चीनको २८४ डलर थियो । आज चीनको प्रतिव्यक्ति २४,३६० डलर छ भने नेपालको एक हजार ४ सय ५६ डलर । पहिले ९८ डलरले धनी थियो चीन, आज २२ हजार ९०४ डलरले नेपालभन्दा धनी छ । अनि यी भ्रष्टहरूले देश बर्बाद पारेका हुन् कि होइनन् ?’

शाहीले जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता भएको आरोपसमेत लगाए । ‘राजावादीले हिंसा गरे रे, अहिले प्रमाणित भयो- सरकारी सम्पत्ति तोडफोड गर्ने, जडिबुटीमा आगो लगाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ,’ शाहीले दाबी गरे ।

उनले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई झुठा मुद्दा लगाएर थुनिएको पनि बताए । उनले मिश्र र राणालाई रिहाइ गर्न पनि माग गरेका छन् । ‘सरकारलाई अपिल गर्न चाहन्छु, झुठा मुद्दा लगाएर थुन्ने कोसिस नगरियोस्, झुठा मुद्दा तत्काल फिर्ता गरियोस्,’ उनले भने ।