राजा ल्याउँछु भन्दै बितण्डा मच्चाउनेलाई कारवाही हुन्छ : प्रधानमन्त्री ओली

राजा ल्याउँछु भन्दै बितण्डा मच्चाउनेलाई कारवाही हुन्छ : प्रधानमन्त्री ओली

विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्नुपर्छ



जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र स्वीकार नहुने बताएका छन् । मंगलबार मधेश प्रदेशसभालाई सम्बोधन गर्दै गणतन्त्र देशको वर्तमान र भविष्य भएको बताए ।

उनले प्रतिगामी तत्वहरूले आन्दोलनको नाममा तोडफोड र आगजनी गरेको भन्दै आक्रोश पोखे । उनले भने, ‘बितण्डा मच्चाएर परिवर्तन ल्याउँछौँ भनेर दुई-चार हजार मान्छेहरूको बितण्डा, यस्ता कुरालाई समाजले ग्रहण गर्दैन । स्वीकार्य हुँदैन । यो अत्यन्तै गलत क्रियाकलाप हो । जोसुकै भएपनि कानूनी कारवाहीको दायरामा आउँछ । यो सरकारले कसैले आग्रह पूर्वाग्रह राखेर कारवाही गर्दैन ।’

कार्यक्रमको आयोजना गर्ने, घटनामा संलग्न हुनेहरूलाई नछाड्ने चेतावनी दिए । शान्तिपूर्ण प्रदर्शनलाई सरकारले भड्कायो भनेर भइरहेको प्रचार झूटा भएको जिकिर गरे । उनले बाहिर हल्ला चलेजस्तो यो सरकारले प्रतिशोध, राजनीतिक सिद्धान्त, मान्यता र आचरणविपरीत काम नगरेको बताए ।

सरकार अहिले नढल्ने भन्दै उनले थपे, ‘यी दुई दलले अठोट गरेर बनेको सरकार हो । ढल्ने त कुरै छैन । हल्लिँदा पनि हल्लिँदैन ।’

प्रधानमन्त्री ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अन्य अधिकारको कुनै अर्थ नहुने बताउँदै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आह्वान गरे ।

“सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ठूलो उपलब्धि हो । यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका रूपमा मात्र होइन जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिका रुपमा लिनुपर्छ । त्यसकारण हाम्रा प्रयासहरु जनताको सेवामा समर्पित हुनुपर्छ । परिपूर्ण लोकतन्त्रका लागि हामीले काम गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “जनताले परिवर्तनको उपलब्धि आफ्नो पेट, आफ्नो आङ र सन्ततिको हितमा खोज्छ । त्यसकारण हामीले जनतालाई लोकतान्त्रिक अधिकार उपयोग गर्न दिनुपर्छ । सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फुलाउनुपर्छ । त्यसका लागि समाजलाई विकास र सुशासनको गतिमा लानैपर्छ ।”

प्रधानमन्त्री ओलीले मधेस प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको उल्लेख गर्दै यहाँका अनुशासित, चेतनशील तथा विकासप्रेमी नागरिकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कायम गर्न पुर्‍याएकाे योगदानको प्रशंसा गरे ।

संविधानले मधेस प्रदेशलाई स्वायत्तता प्रदान गरेको र यो स्वायत्तताको सही उपयोग गर्नु सबैको दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय, नीति निर्माण र विकासका कार्यहरूलाई प्रभावकारी बनाउन प्रदेश सरकारको विशेष भूमिका रहने बताए ।

प्रधानमन्त्री ओलीले मधेस प्रदेश सम्भावनै सम्भावनाहरूको उर्वर भूमि, कृषिका लागि उपयुक्त चुरेक्षेत्र जडीबुटी, जङ्गलदेखि पानीको अपार स्रोतयुक्त भएकाले यहाँको विकासलाई सबैको सहयोगमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले सुनकोशी मरिन डाइभर्सन आयोजनाले मधेसमा सिँचाइ भई राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र यसले पहाड र तराईबीचको एकताभाव सृजना गर्ने बताए ।

प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्र, पेट्रोलियम पाइपलाइन, रेलमार्ग, हुलाकी सडक, दू्रतमार्ग, रामराजाप्रसाद सिंह अस्पताल मधेसको विकास र समृद्धिको आधार भएकाले एकीकृत जाँच चौकी तथा प्रमुख भन्सार नाका वीरगञ्जलाई आर्थिक केन्द्र तथा प्राचीन शहर जनकपुरधामलाई सांस्कृतिक पर्यटनको आधारको रुपमा विकास गर्न सकिने बताए ।

उनले राजर्षि जनक, माता सीता, महर्षि परशुराम, महाकवि विद्यापतिजस्ता विभूति र विद्वान एवं छिन्नमस्ता, गढीमाईलगायत देवदेवीहरुको भूमि मधेस प्रदेशमा ती पुर्खाका ज्ञान र गौरवलाई स्मरण गर्दै अब विकासको पथमा अग्रसर हुनुपर्नेमा जोड दिए ।