काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल प्रहरी प्रमुख सत्तारूढ नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भएको आरोप लगाएका छन् ।
मंगलबार राप्रपाले काठमाडौंको बल्खुमा आयोजना गरेको खबरदारी सभामा लिङदेनले देशको गृहमन्त्री र आईजीपीको निर्देशनमा प्रहरी परिचालन गरिएको ठानिएकामा एमालेको भ्रातृ संस्थाले परिचालन गरेको बताए ।
“अहिलेको गृहमन्त्रीले आदेश दिए होलान्, आईजीपीले आदेश दिए होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछन् त, हेर्नुस् त !,” लिङदेनले भने ।
तीनकुने घटनालाई प्रहरी प्रमुखले गरेको ‘ब्रिफिङ’बाट उनी एमाले पुष्टि भएको लिङदेनको आरोप छ ।
“त्यो हिंसा राज्यको तर्फबाट गरिएको हिंसा थियो । हामी कुनै पनि अराजकतामा हाम्रो भविश्य देख्दैनौँ,” उनले भने, “त्यो दिनसुनियोजित तरिकाबाट राज्यले हिंसा भड्कायो मात्र होइन । दुई दर्जन बढीलाई गोली लाग्यो, दुईजनाको ज्यान गयो, कयौँ घाइते भए त्यसको कुनै हिसाब छैन । भौतिक क्षति कति भयो त्यसको हिसाबकिताब छैन । त्यसको मूलमा राज्य जिम्मेवार छ ।”
लिङ्देनले राजादेखि गणतन्त्रवादी समेत अटाउने व्यवस्थाका लागि नयाँ समझदारी गर्न आवश्यक रहेको बताएका हुन् ।
‘यस्तो विधि बनाऔँ, जहाँ कसैले कसैलाई अपमान भएको महसुस नहोस्’, लिङ्देनले भने, ‘यो सभामा आइपुग्दा सम्म देशको राजनीतिमा धेरै परिवर्तन भैसकेका छन् ।’
प्रतिक्रिया