काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि ज्यादती भएको भन्दै बुधबार राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएको छ ।
गत शुक्रबार लामिछानेलाई पक्राउ गर्ने क्रममा प्रहरीले ज्यादती गरेकाले मावनअधिकार आयोगको ध्यानाकर्षण गराएको रास्वपाले जनाएको छ ।
रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार, बागमती प्रदेश सभापति अच्युतम लामिछानेसहितका नेताहरू बुधबार मध्याह्न पुल्चोक हरिहर भवनस्थित राष्ट्रिय मानवअधिकार आयोग पुगेर ध्यानाकर्षण गराएका थिए ।
‘सभापति रवि लामिछानेज्यूमाथि भएको प्रहरी ज्यादती र मानव अधिकार हननको घटनाविरुद्ध पार्टीको तर्फबाट उहाँको मानव अधिकार रक्षार्थ राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिइएको हो,’ बुर्लाकोटीले बताएका छन् ।
सुप्रिम सहकारी ठगी प्रकरण र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै उच्चले पुर्पक्षमा पठाउन आदेश दिएपछि सोही दिन राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो ।
भोलिपल्ट शनिबारको सार्वजनिक बिदा भएकाले दुई रात हिरासतमा राखेर २३ गते मात्रै उनलाई भैरहवा कारागार चलान गरिएको थियो ।
उनलाई पक्राउ गर्दा न्यायिक प्रक्रिया नपुर्याएको र पक्राउ गर्न गएका प्रहरी अधिकृतले अपमानजनक व्यवहार र शब्द प्रयोग गरेको रास्वपा नेताहरुको आरोप छ ।
प्रतिक्रिया