काठमाडौं । नेपाल यु–१९ क्रिकेट टिमले अफगानिस्तानलाई ८५ रनले हराएको छ । टस हारेर सुरुम ब्याटिङको निम्तो पाएको नेपालले डिएलएस पद्धतिबाट ८५ रनको शानदार जित निकालेको हो । तीन खेलको एक दिवसीय शृङ्खलामा नेपालको यो सान्त्वना जित हो ।
बुधबार मुलपानी क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याइरहेको अफगानिस्तानले २०.१ ओभरमा ब्याटिङ गर्दै गर्दा पानी परेको थियो । पानी परेर खेल सञ्चालन हुने अवस्था नभएपछि डिएलएस पद्धतिबाट खेलको निर्णय गरिएको हो ।
पानी पर्नुअघि अफगानिस्तानले २०.१ ओभरमा ४६ रन बनाउँदा ६ विकेट गुमाएको थियो ।
नेपालका लागि अपराजित पौडेलले दुई विकेट लिए भने दयानन्द मण्डल, विपिन शर्मा, सन्तोष यादव र अशोक धामीले एकएक विकेट हात पारे । अफगानिस्तानका फैसल सिनोजादा र अजिजुल्लाह मिया खिलबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरको अंकमा रन जोड्न सकेनन् । फैसलले ४२ बलमा १६ रन जोडे भने नटआउट रहेका अजिजुल्लाहले २९ बलमा १५ रन जोडे ।
मुलपानी क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको नेपालका लागि साहिल पटेलले ४६, निरजकुमार यादव ४२, रोशन विश्वकर्मा २८, कप्तान नरेन भट्ट २२ र दर्स सुनुवारले १० रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अफगानिस्तानका हाफिज जद्रानले चार विकेट हात पारे भने अब्दुल अजिज र जइतुल्लाह साहिलले समान दुईदुई विकेट हात पार्दा रुहुल्लाह अरब र मेहेबुब खानले एकएक विकेट हात परे । ४४.५ ओभरमा अलआउट हुँदै नेपालले १९१ रन बनाएको हो ।
यसअघिको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानले नेपाललाई एक रनले हराएको थियो । लगातार दुई खेल हारेको नेपालले सान्त्वना जिते निकाल्दै प्रतियोगितामा समापन गरेको हो ।
प्रतिक्रिया