स्थिरता र स्थायित्वका लागि यो सरकार बनेको हो : प्रधानमन्त्री

स्थिरता र स्थायित्वका लागि यो सरकार बनेको हो : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार स्थिरता र स्थायित्वका लागि बनेको बनेको बताएका छन् ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन गरिरहनु नपर्ने पनि जिकिर गरे ।

‘सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन गरिरहनुपर्ने आवश्यकता छैन । अहिलेको सरकार स्थिरता र स्थायित्वका लागि बनेको हो । सुशासन र विकासका लागि बनेको हो । मुख्य एजेन्डा नै यही हो अहिलेको सरकारको’, प्रधानमन्त्री ओलीले भने, ‘अस्थिरता हुन नदिएर स्थिरता र स्थायित्व दिने ।’

उनले छिनछिमा सरकार बदलिने, आफूभन्दा अघिल्लो सरकारले गरेका राम्रा कामहरूबारे उच्चारण नै गर्न नहुने लगायतका काम अब नहुने बताए ।

भ्रष्टाचारको न्युनीकरणसहित सुशासनको सेवा प्रवाह कसरी गर्ने भनेर नै मुलुकमा तीन तहका सरकारहरू बनेको भन्दै प्रधानमन्त्रीले सङ्घीय प्रणालीको विशेषता नै सेवा प्रवाह भएको बताए । त्यसक्रममा उनले अध्यादेशमार्फत सरकारले कानुनहरू बनाएको भन्दै अब मुलुकको अर्थतन्त्र सही ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरे । उनले सरकार र निजी क्षेत्रको सहकार्य कस्तो हुनुपर्छ भनेर नमुनाका रूपमा अघि बढेको पनि बताए ।

‘देशमा भ्रष्टाचारको न्युनीकरण र अन्त्य, सुशासन, जनतालाई सेवा कसरी प्रवाह गर्न सकिन्छ भन्नेमा छौं,’ उनले भने, ‘हाम्रो देशको विकासको जिम्मा हामीले नै लिने हो । अरुले गर्दैन ।’