काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाह कुनै पनि हालतमा संवैधानिक राजा बन्न नसक्ने टिप्पणी गरेका छन् ।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले ज्ञानेन्द्र शााहलाई धोएर जति सफा गरे पनि संवैधानिक राजा बन्न योग्य नरहेको दाबी गरेका हुन् ।
कांग्रेस लामो संघर्ष र अनुभवबाट संवैधानिक राजा राख्न नसक्ने निर्णयमा पुगेको उनले बताए ।
‘नेपालको राजालाई धोएर जति सफा गर्यौं भने पनि उसलाई कसैले पनि संवैधानिक बनाउन सक्दैन । कांग्रेसले लामो अनुभव गरेर त्यो निर्णयमा पुगेको हो । निर्मल निवासमा बस्दाखेरि त यस्तो उत्पात मच्चाए, कहाँ भएको दुर्गा प्रसाईंलाई खोजेर ल्याएर, हाम्रै क्षेत्रमा बस्ने नवराज सुवेदी, जसले अस्तिसम्म किताब लेखेर राजालाई गाली गर्थे उसलाई खोजेर ल्याएर निर्मल निवासमा बसेर यस्तो उत्पात मच्चाएको छ, नारायणहिटीमा भएको भए के गर्थे होलान् ?’ उनले प्रश्न गरे ।
उनले यो देश नेपाली जनताले छानेका प्रतिनिधिहरू चलाउन सक्षम रहेको बताए ।
त्यसैगरी उनले २०८३ मंसिरभित्र पार्टीको १५ औं महाधिवेशन भइसक्ने बताए । महाधिवेशनका लागि आवश्यक तयारी भइरहेको पनि उनले जानकारी दिए ।
कांग्रेसले २०७८ मंसिरमा महाधिवेशन गरेकोले २०८२ मंसिरभित्र महाधिवेशन गर्नुपर्ने विधानको व्यवस्था छ । तर विधानले नै सभापतिलाई केन्द्रीय समितिबाट निर्णय गराएर एक वर्ष कार्यकाल थप गर्ने अधिकार दिएको छ । ‘२०८३ सालको मंसिरभित्र पार्टीको महाधिवेशन भइसक्छ,’ उनले भने ।
पार्टीमा नेता बलियो र कार्यकर्ता कमजोर भएको बन्दै गएका कारण असन्तुष्टि रहेको भन्दै उनले संगठन निर्माणमा जुट्न पनि आग्रह गरेका छन् ।
फरक प्रसंगमा उनले अहिलेको सरकारले अपेक्षाकृत रूपमा काम गर्न नसकेको पनि बताए । सरकारले गठन गरेको राजनीतिक संयन्त्रका सुझाव पनि नमान्ने गरेको उनको संकेत थियो ।
प्रतिक्रिया