दुर्गा प्रसाईंलाई आज नेपाल प्रहरीको जिम्मा लगाइँदै

दुर्गा प्रसाईंलाई आज नेपाल प्रहरीको जिम्मा लगाइँदै


ग्लोब नेपाल
540
Shares

काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईंलाई आज भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाउँदैछ । प्रसाईंले हिजो भारतको आसम प्रहरीमा आत्मसर्पण गरेका थिए ।

प्रसाईंलाई भारतको आसाम राज्य अन्तर्गत गुवाहाटीबाट त्यहाँको स्थानीय प्रहरीले नेपालको सीमासम्म सुरक्षित ल्याइपुर्‍याएको राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले जनाएको छ । भारतको आसाम प्रहरीसमक्ष सुरक्षा माग गर्दै प्रसाई पुगेको र सुरक्षित रुपमा नेपालको सीमासम्म ल्याइपर्‍याएको समितिले जनाएको छ । यसका लागि आसाम प्रहरीलाई समितिले धन्यवाद पनि दिएको छ ।

प्रसाईंले आफ्नो सुरक्षाका लागि आफै भारतको असाम राज्यको प्रहरी समक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले जनाएको छ । उनलाई भारतीय प्रहरीले नेपाली प्रहरीको जिम्मा लगाउन काँकडभिट्टा ल्याउँदैछ ।

प्रसाईंलाई भारतमा पक्राउ गरिएको विषयलाई भने प्रहरीले कानूनी मान्यताअनुसार खण्डन गरेको छ । बरू ‘उनी नेपालभित्रै छिट्टै पक्राउ पर्न सक्ने’ प्रहरी अधिकारीको दाबी छ । नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास छ ।

समितिका तर्फबाट प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गरी प्रसाईँको पक्राउ वा आत्मसमर्पण नभई स्थानीय प्रहरीसमक्ष ज्यानको सुरक्षाका लागि गएको दाबी गरेका हुन् । चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक बन्द दु्ई जनाको ज्यान गएको थियो । त्यसपछि आन्दोलनको जनकमाण्डर समेत रहेका प्रसाईं फरार भएका थिए । प्रसाईंलाई पक्राउ गर्न प्रहरीले टोलीले नै परिचालन गरी खोजी गरिरहेको थियो ।