दुर्गा प्रसाईं र उनका अंगरक्षक झापाबाट पक्राउ, काठमाडौं ल्याइँदै

दुर्गा प्रसाईं र उनका अंगरक्षक झापाबाट पक्राउ, काठमाडौं ल्याइँदै


ग्लोब नेपाल
270
Shares

काठमाडौं। नेपाल प्रहरीले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्धको र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई आज २०८१ चैत २९ गते झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो। प्रसाईँ विभिन्न आपराधिक घटनामा संलग्न रही प्रहरीको खोजी सूचीमा रहेका थिए।

यसैबीच, हिजो २०८१ चैत २८ गते विभिन्न सञ्चारमाध्यममा ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ती समाचार भ्रामक भएको स्पष्ट गरेको थियो। प्रवक्ता आचार्यले हिजोको प्रेस विज्ञप्तिमा प्रसाईँ प्रहरीको खोजी सूचीमा रहे पनि पक्राउ नपरेको र भ्रामक समाचार प्रकाशन नगर्न सञ्चारमाध्यमलाई अनुरोध गरेको उल्लेख गरेका थिए।

नेपाल प्रहरीले आज प्रसाईँ र खड्कालाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ।