पूर्वराजालाई संसदीय समितिमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव

पूर्वराजालाई संसदीय समितिमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले चैत १५ गते तीनकुने क्षेत्रमा भएको घटनाबारे बुझ्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई समिति बैठकमा बोलाउनुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै कांग्रेस सहमहामन्त्रीसमेत रहेका परियारले पूर्वराजा शाहलाई समिति बैठकमा बोलाउन समितिका सभापतिलाई आग्रह गरेका हुन् ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानव अधिकार उल्लङ्घनका विषयहरूमाथि समितिले शुक्रबार गृहमन्त्री रमेश लेखकलाई बोलाएर छलफल गरिरहेको छ ।

‘कुरा उठेको छ फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र जो नेपाली नागरिक हुनुहुन्छ अहिले । उहाँ पोखराबाट काठमाडौं आउँदै गर्दा जुन खालको स्वागत, सत्कार र सम्मान गरे जनताले, ती पनि जनता नै हुन् । तर त्यो आवश्यक थियो कि थिएन, चैत १५ गतेको घटनामा उहाँ संलग्न हुनुहुन्छ कि हुनुहुन्न भन्ने बारेमा विभिन्न विचारहरू आउन थालेका छन्,’ उनले भने, ‘सभापतिज्यू, पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो समितिमा बोलाऔं र सोधौं- यो मानव अधिकार उल्लंघनको घटना हो कि होइन, तपाईंले गरेको हो कि होइन ? तपाईं एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न पाउनु हुन्छ, के हो कुरा ? यसका बारेमा पनि छलफल गर्न आवश्यक छ ।’

अराजकता र अमानवीय व्यवहार गर्ने छुट कसैलाई पनि नहुने उनले बताए । परियारले भने, ‘हिजो हामीले १०४ वर्षे राणा शासन एउटा जहानियाँ थियो । एउटा परिवारको थियो । तत्कालीन शाहहरू पनि खोपीमा थिए । राजाहरूको अवस्था के थियो एकपटक सम्झियौँ त । त्यसपछि ३० बर्षे एकदलीय पञ्चायती व्यवस्था थियो । राजाले प्रत्यक्ष शासन गर्थे, कति सुशासन र स्थायित्व थियो । त्यो हामी सबैले बुझेका छौं । राजाको छोरा राजा हुने व्यवस्था थियो । राजाको छोरी राजा हुने व्यवस्था थिएन । बेलायतको जस्तो होइन नेपालको राजतन्त्र, यो कुरा पनि ख्याल गर्नुपर्छ ।’