राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नुपर्छ : अर्थमन्त्री पौडेल

राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नुपर्छ : अर्थमन्त्री पौडेल



बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नुपर्ने बताएका छन् ।

बुटवलमा नेकपा एमालेले शुक्रबार गरेको जनजागरण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने बताए ।

‘दरबारिया र राजतन्त्रका मतियारलाई कहिल्यै नउठ्ने गरी सडकमा पछार्नुपर्छ,’ उनले भने, ‘प्रतिगामी तत्व र राजावादीको कुनै भविष्य छैन, राजनीतिक दलहरूले नै हो मुलुकलाई अगाडि बढाउने हो ।’

अर्थमन्त्री पौडेलले व्यवस्थाको कमजोरीलाई छोपेर प्रतिगामी तत्वहरूले टाउको उठाएको तर पहिलोपटक नै परास्त भएको बताए ।

उनले दरबारियाहरू कहिले पनि जनतासँग काम नगरेको र सधैँ अराजकतामा रमाउन खोजेको दृष्टान्त तीनकुनेमा देखिएको बताए ।

उनले भने, ‘एक झट्कामा उनीहरूको चरित्र पर्दाफास भएको छ तर फेरि पनि उनीहरूले टाउको उठाउन सक्छन्, त्यस समयमा हामी फेरि सचेत हुनुपर्नेछ । संविधानको विरोधमा अनर्गल प्रचार गर्ने, नेपालीको एकताको अभियानमा खण्डित बनाउनेसँग सचेत हुनुपर्नेछ ।’

‘दलहरू सधैँ जनतासँग रहेका हुन्छन्, तर दरबारियाहरू आफ्नो स्वार्थमा केन्द्रिकृत हुन्छन्, अहिले एमालेलाई कमजोर बनाउन त्यहीँ शक्ति लागेका छन्, एमालेविरूद्वको प्रहार हो, केपी ओलीविरुद्धको प्रहार हो’, उनले भने, ‘एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो ।’