काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्ष २०८२ नेपाली इतिहासको स्मरणीय र सुनौलो बन्ने बताएका छन् । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो भएका हुन् । उनले सार्वजनिक गरेको भिडियो सन्देशमा केही दिन अघि जनप्रर्दशनमा क्रममा भएको मानवीय एवं भौतिक क्षतिप्रति दु:ख व्यक्त गरेका छन् ।
पूर्वराजा शाहले जनसमुदायले आफ्ना धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पनि उल्लेख गरेका छन् ।
उनले नेपाली जनतामा देश र भविश्यलाई लिएर जुन स्तरको जागरुकता पैदा भएको छ त्यसलाई सकारात्मक रुपमा जनाएका छन् । उनले नयाँ बर्ष २०८२ मा नेपाली जनताको चाहना अनुरुपको परिणाम हासिल हुने विश्वास थपिएको जनाएका छन् ।
जस्ताको त्यस्तै
हामी नेपालीहरुको घर आँगनमा नयाँ वर्ष दुई हजार बयासी आइपुगेको छ । नयाँ घाम, नयाँ ज्योति, नयाँ उत्साह लिएर आएको नव बर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरुको सुख र शान्तिको मंगलमय शुभकामना ।
हरेक नयाँ वर्ष नुतन आशा र विश्वास बोकेर आउने तर बर्षको विदाईमा एउटा घनघोर निराशाका बिच हुने गरेको धेरै साल भयो । समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्ना धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पर्दछ । केहि दिन अघि जनप्रर्दशनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षती भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लाग्यो । नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ ।
मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुऱ्याउँदै आएको विदितै छ । राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने वहुदलीय प्रजातन्त्र र सम्वैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रही आएको छ । वर्तमानमा बदलिंदो जनचाहनाको पनि कदर गरि राज्यशक्तिको श्रोत जनता नै हुन भन्ने मन्जुरी सदैव स्थापित हुनु पर्दछ ।
राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला रु सन्तुलित कूटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूलसार हो । यही नै राजनीतिको मूलधार हुनु पर्ने हो ।
विश्वको बदलिंदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारहरुलाई चुनौतीको रुपमा लिँदै चरम आर्थिक मन्दी भोग्न परिरहेको अहिलेको सन्दर्भमा नेपाल जस्ता विकासोन्मुख देशले आत्म निर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनु पर्ने समय आएको छ । स्वदेशी श्रोत साधनको प्रयोगले स्वदेश मै उतपादन गरि स्वदेश मै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्र भित्रैबाट मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गराउनु पर्ने विश्व परिवेश निर्माण हुँदैछ भन्ने संकेतहरु देखा परिरहेका छन् ।
विश्वभरि छरिरहेका नेपालीहरु एकताको सूत्रमा बाँधिन अब ढीला गर्नु हुँदैन। आफ्ना ज्ञान, शीप र सामर्थ्य मात्र होइन, त्यहाँ आर्जेको पुँजी, श्रोत र साधन समेत नेपालमै लगाउनु पर्दछ भन्ने भावना सबैमा जागृत गराउनु परेको छ । प्रकृतिले दिएको स्वर्ग जस्तै सुन्दर हिम्वत् खण्ड नेपाल श्रृंगार्न र विकासको विकुल फुक्न कसेर लाग्न र लगाउन ‘स्वदेश फर्क स्वदेश नै स्वर्ग’ भन्ने अभियान चलाउनु पर्ने आजको आवश्यकता भएको छ ।
जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नु पर्ने तथ्य स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरुमा आमूल परिवर्तन र सुधार गरि यीनको आधुनिकरण अनिवार्य भइसकेको छ। युग प्रविधीको हो, सावधानीपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठूलो टेवा पुग्न सक्ने छ । “सूशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनु पर्दछ ।
हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौं। त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासहरुमा हाम्रो एकबद्धता रहने छ। मुलुकको गिर्दो अर्थ व्यवस्था, रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्र ऋण र वेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा, असन्तुष्टि हाम्रो चिन्ताको चिन्ताको मूल विषय हो। नागरिक पलायनसँगै पूँजी पलायन, भ्रष्टाचार र बेथिति देशले थेग्नै नसक्ने स्तरमा झाँगिएको छ। यो स्थितिमा नयाँ बर्षलाई उपलब्धिमूलक बनाउन हामी सबै नेपालीको सामूहिक र एकताबद्ध प्रयास अपरिहार्य भएको छ ।
संसार धेरै अघि बढीसक्यो तर हामी यो वा त्यो वादको चक्रव्यूहमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नु पर्छ, हाम्रा कदम चल्नु पर्छ । हरेक समस्याको समाधान सम्वाद, सहमति, समन्वय र सहकार्यबाट हुनसक्छ ।
आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो संझना बन्नु पर्छ र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं। नयाँ वर्षले नयाँ आशा, उमंग र उत्साह ल्याओस्, अनि नेपालीको सुनौलो भविश्यको सुनिश्चिता होस् ।
श्री पशपतिनाथले हामी सबैको कल्याण गरुन्, जय नेपाल !
प्रतिक्रिया