काठमाडौं । आईसीसी यु-१९ विश्वकप त्रिकेटको एसिया छनोटअन्तर्गत आफ्नाे पहिलो खेलमा नेपालले युएइलाई डिएसएल पद्धतिबाट पराजित गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएईले ३६ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर १७१ बनाएको थियो ।
त्यसपछि वर्षा भएसँगै खराब प्रकाशका कारण डिएलएस पद्धतिमार्फत नतिजा निकालिएको हो । युएईका लागि यायिन किरण राईले अविजित १०४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।
त्यसअघि मुलपानी क्रिकेट मैदान पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनाएको थियो । नेपालका लागि कप्तान नरेन भट्टले अर्धशतकीय इनिङ खेले ।
नरेनले ७५ बलमा सर्वाधिक ६७ रन बनाए । दिलसाद अलीले ३४ र साहिल पटेलले ३२ रनको योगदान दिए ।
बलिङमा यूएईका उदिस सुरीले सर्वाधिक ३ विकेट लिए । मैदान भिजेको कारण केही ढिला सुरु भएको खेल ४० ओभरमा छोट्याइएको थियो ।
याे पहिलो जितसँगै नेपालले २ अंक जोडेको छ ।
प्रतिक्रिया