भ्रष्टाचार र बेथिति थेग्न नसक्ने गरी झाँगिएको छ : पूर्वराजा

भ्रष्टाचार र बेथिति थेग्न नसक्ने गरी झाँगिएको छ : पूर्वराजा



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भ्रष्टाचार र बेथिति थेग्न नसक्ने गरी झाँगिएको बताएका छन् । आइतबार नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले नेपाली–नेपालीबीच द्वन्द्व नहोस् भन्ने कामना गरेका छन् ।

१५ चैतमा भएको तीनकुने घटनाप्रति उनले दु:ख व्यक्त गरेका छन् । ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी र तोडफोड भयो, जसबाट मानवीय र भौतिक क्षति भयो, त्यसबाट हामीलाई अत्यन्तै दु:ख लाग्यो । नागरिक स्वतन्त्रताभन्दा ठूलो कुनै वाद वा तन्त्र हुँदैन । वास्तविक प्रजातन्त्र जहाँ राम्रो नराम्रो जनगुनासो परम्परा र संस्कार हुन्,’ उनले भनेका छन् ।

देश र भविष्यलाई लिएर भएको चिन्तालाई सकारात्मक रूपमा लिएको पूर्वराजा शाहले बताएका छन् । देशलाई विद्यमान जटिलताबाट मु्क्त गराई शान्त समृद्ध बनाउने जागरुकता भएको र जनताको परिणामअनुसार हासिल हुने विश्वास थपिएको उनले बताएका छन् । निराशा र असन्तुष्टिबाट जनतालाई मुक्ति दिन राजसंस्थाले योगदान दिएको शाहले बताएका छन् ।

विश्वको बदलिँदो परिस्थितिलाई मनन गर्दै चरम आर्थिक मन्दी भोगिरहनुपरेको सन्दर्भमा नेपाजस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा अर्जुनदृष्टि लगाउनुपर्नेमा शाहले जोड दिएका छन् ।

‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’ भन्ने अभियान चलाउनुपर्ने आजको आवश्यकता भएको पूर्वराजा शाहले बताएका छन् । दैनिक कामकाजदेखि शिक्षासम्म परिवर्तन गर्नुपर्ने आवश्यकता शाहले औँल्याएका छन् । ‘सुशासन र भ्रष्टाचारमुक्त प्रशासन भन्ने नारा हुनुपर्छ,’ शाहले भनेका छन् ।

पूर्वराजा शाहले जनताको स्वतन्त्रताभन्दा ठूलो तन्त्र र वाद नहुने प्रतिक्रिया दिएका छन् । उनले प्रजातन्त्रमा राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार रहने उल्लेख गरेका छन् ।

‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं,’ उनले भनेका छन् ।

मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यैपनि योगदान पुर्‍याउँदै आएको उनले बताएका छन् ।

‘संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं,’ पूर्वराजा शाहले भनेका छन्, ‘नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ ।’