पूर्वाराजा शाहकाे भिडियाे सन्देशप्रति एमालेकाे आपत्ति

पूर्वाराजा शाहकाे भिडियाे सन्देशप्रति एमालेकाे आपत्ति



काठमाडौं । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको अवसरमा दिएको भिडियो सन्देशप्रति आपत्ति जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले चैत १५ गते तीनकुनेमा भएकाे घटनालाई पूर्वराजा शाहले जागरण भनेकाे भन्दै एमालेले आपत्ति जनाएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘तीनकुनेमा प्रकट भएका कुरालाई जनअसन्तुष्टि भन्ने हो भने जनताको नै नयाँ परिभाषा गर्नुपर्छ, असन्तुष्टिको बेग्लै परिभाषा गर्नुपर्छ आन्दोलनको बेग्लै परिभाषा गर्नुपर्छ’, उपमहासचिव ज्ञवालीले बैठकको निष्कर्ष सुनाउँदै भने ‘त्यो जनअसन्तुष्टि होइन ।’ एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति परिवर्तन उल्ट्याएर मुलुकलाई पछाडि फर्काउन प्रयत्न र सक्रियताका रूपमा लिएको ज्ञवालीको भनाइ छ ।

‘हिजो मात्रै पूर्वराजा ज्ञानेन्द्रको सन्देश भनेर जुन अभिव्यक्त आएको छ, त्यो अभिव्यक्ति हेर्दा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धिलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता जीवितै रहेको पायौँ’, उपमहासचिव ज्ञवालीले सञ्चारकर्मीसँग भने, ‘त्यो एकदमै गलत कुरा हो । आपराधिक घटनालाई जनतामा आएको जागरण भन्ने, लुटपाट र तोडफोडलाई जागरण भन्ने हो भने धेरै आपत्तिजनक हो ।’

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पछिल्ला अभिव्यक्ति सत्तामा नहुँदाको कुण्ठा र पीडा बोधले भरिएको बताएकाे छ ।

त्यसैगरी एमालेले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सात जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ

वैशाख ९ गते पार्टी स्थापना दिवसका दिन कञ्चनपुरका लालबहादुर विश्वकर्मा, जाजरकोटका स्वर्गीय रत्न शर्मा न्यौपाने, दाङका शोभारम बस्नेत, गोरखाका वाचस्पति देवकोटा, काठमाण्डौकी शान्ता मानवी, सप्तरीका सत्यनारायण मण्डल र झापाका हरिचरण शिवाकोटीलाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको हाे ।

त्यस्तै एमालेले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवका रूपमा मनाउने गर्ने निर्णय पनि गरेको छ । निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक बीजारोपण गरिएको दिन भएकोले त्यो दिन भव्य रूपमा कार्यक्रम आयोजना गर्ने तयारी छ ।