काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्स एफसीले एफसी चितवनलाई हराएको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा काठमाडौंले चितवनलाई २–० गोलले हरायो । काठमाडौंको जीतमा बाकारी माने र अमादोउ डियोपले गोल गरे ।
लिग चरणमा सबै ६ खेल खेल्ने पहिलो टिम बनेको काठमाडौं मिश्रित नतिजापछि ८ अंक जोडेर चितवनलाई नै पछि पार्दै तेस्रो स्थानमा उक्लेको हो । काठमाडौंले २ खेल जित्दा २ खेलमै पराजित भयो भने उति नै खेल बराबरी खेलेको थियो । काठमाडौंको यो पोजिसन कायम रहन्छ कि रहँदैन भन्ने थाहा पाउन भने लिग चरणका बाँकी चार खेलको नतिजा पनि पर्खनुपर्नेछ ।
चितवन ५ खेलमा ७ अङ्कसहित चौथो स्थानमा छ । यस्तै एनएसएलमा अहिले बेलुकी ६ बजे दोस्रो स्थानको धनगढी एफसी र छैटौं स्थानको झापा एफसी खेल्दैछन् ।
तेस्रो संस्करणको एनएसएल फुटबलमा ललितपुर, काठमाडौं, पोखरा, बुटवल लुम्बिनी, धनगढी, झापा र चितवन गरी सात टोली सहभागी छन् । प्रतियोगिताको फाइनल खेल वैशाख १३ गते हुनेछ ।
प्रतिक्रिया