बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै छ : गगन थापा

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै हुने गरेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र र बिचौलिया फरक कुरा भएको जिकिर गरे । अहिले अर्थतन्त्रमा समस्या बिचौलियाका कारणले आएको उनको भनाइ छ ।

उनले बिचौलियाहरूको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको बताए ।

“हाम्रो इकोनोमी (अर्थतन्त्र)मा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन,” उनले भने ।

पहिले राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदा कौतुहलता हुने गरे पनि अहिले बिचौलियाको मान्छे भनेर खुलारूपमा बहस र छलफल हुने अवस्था आएको थापाको जिकिर छ ।

“पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला कि, गभर्नर यसले बनाउला कि त्यसले बनाउला कि ? भन्ने कुरा हुन्थ्यो । अब अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुलमखुला बहस हुने, छलफल हुने अवस्था बन्ला कि आउने भनेको हामी कहाँनेर पुग्यौँ ?,” थापाले भने ।

महामन्त्री थापाले आसेपासेलाई पोस्ने व्यवस्था पुँजीवादी व्यवस्था नै नभएको जिकिर गरे । नागरिक बलियो भएमात्रै राज्य बलियो हुने उनको भनाइ छ ।

आफूहरू फोहोर सफा गर्नका लागि पोखरीमा पसेको थापाको भनाइ छ । फोहोर सफा गर्न पोखरीमा छिरेको हुनाले कहिले कहीँ बाहिरबाट हेर्दै गर्दा फोहोर नै देखिए पनि आफूहरू फोहोरमा मिसिन नभई सफा गर्नका लागि गएको बताए । अहिलेको सरकार नेपाली कांग्रेस सम्मिलित सरकार भएकाले सरकारको पर्फमेन्स बढाउन आफूले चाहेको जिकिर उनले जिकिर गरे ।