काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्नेबारे छलफल गरेका छन् ।
विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूको अगुवासँग महामन्त्रीद्वयले छलफल गरेका हुन् ।
छलफलमा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महामन्त्री तुलाबहादुर थापा लगायत सहभागी थिए ।
सानेपामा भएको छलफलमा शिक्षकका माग सम्बोधनको लागि पहलकदमी लिने प्रतिबद्धता महामन्त्रीद्वयले जनाएका छन् । आन्दोलनरत शिक्षकहरूसँग सरकारले गरेको वार्ता अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन ।
छलफलमा सरकारले मन्त्रिपरिषदको निर्णयबाट गर्न सकिने निर्णय तत्काल गर्ने र शिक्षा ऐन जारी गर्नका लागि संसदीय समितिबाट छिटो विधेयक पास गरेर संसदमा पठाउने विषयमा केन्द्रित रहेको थियाे ।
केही दिन अघि शिक्षक प्रतिनिधिहरू कांग्रेस सभापति शेरबहादुर देउवा निवास पनि पुगेका थिए । देउवाले शिक्षकको माग पूरा गर्ने आश्वासन दिएका थिए ।
महामन्त्री थापाले कानून नबनाएरै पनि शिक्षकको अधिकांश माग सम्बोधन गर्न सकिने जनाएका थिए ।
प्रतिक्रिया