काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्या छिटो टुंगो लगाउन निर्देशन दिएका छन् ।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसँगको भेटमा सहकारी समस्या बारेमा राष्ट्रपतिले चासो देखाएको उनको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले सहकारीका समस्याका कारण मारमा परेका नागरिकलाई छिटो न्याय दिन र यस क्षेत्रको समस्यालाई छिटो टुंगो लगाउन आग्रह गरेका हुन् । राष्ट्रपति पौडेलले सहकारीका साना बचतकर्ताको रकम फिर्ताका सम्बन्धमा सरकार गम्भीर भएर लाग्न आग्रह समेत गरेका छन् ।
सो अवसरमा मन्त्री अधिकारीले केन्द्रीयस्तरमा दर्ता भएका ४७ मध्ये २३ वटा सहकारीलाई संकटग्रस्त घोषणा गरी तदारूकताका साथ काम भइरहेको र ३ वटा सहकारीको समस्या समाधान गरिसकेको तथा बाँकी सहकारीको समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताएका थिए ।
लामो समयदेखि सहकारी पीडितहरूले आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया