चौपत्ता अस्पताललाई धुलिखेल अस्पतालको आउटरिच सेन्टर बनाइने

चौपत्ता अस्पताललाई धुलिखेल अस्पतालको आउटरिच सेन्टर बनाइने


ग्लोब नेपाल
378
Shares

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १४ मा रहेको चौपत्ता अस्पताल (शहिद स्मृति सामुदायिक अस्पताल) लाई धुलिखेल अस्पतालको आउटरिच सेन्टरको रुपमा सञ्चालन गर्ने तयारी भएको छ ।

पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद एवं प्रतिष्ठित उद्योगपति विनोद चौधरीको पहलमा धुलिखेल अस्पतालले आउटरिच सेन्टरका रुपमा सञ्चालन गर्न तयार भएको हो । सांसद चौधरीको आग्रह अनुसार धुलिखेल अस्पतालका चिकित्सकको एक टोली अस्पतालको अवलोकनका लागि आज नवलपरासी पुगेको छ ।

स्वास्थ्य सामग्री राम्रो भएर पनि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नसकेको चौपत्ता अस्पताललाई सांसद चौधरीले नेपालकै ख्यातिप्राप्त अस्पताललाई आउटरिच सेन्टरका रुमपा सञ्चालन गर्न पहल गरेका थिए । उनले यो क्षेत्रकै मात्र नभएर वरिपरीका जिल्लाका नागरिकका लागि पनि राम्रो स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे । यसअघि सांसद चौधरीकै पहलमा चौपत्ता अस्पताललाई ६ वटा डाइलाइसिस मेसिन उपलब्ध गराएको थियो ।

डायलासिस मेसिन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको समन्वयमा रोटरी क्लव अफ धुलिखेलले उपलब्ध गराएको हो । यसका लागि धुलिखेल अस्पतालले प्राविधिक सहयोग गरेको हो।

शिक्षा, स्वास्थ्य र रोजगारी मुख्य एजेण्डा बनाएका सांसद चौधरीले निर्वाचनका समयमा सो अस्पताललाई त्यस क्षेत्रकै एउटा नमूना र रिफरर अस्पतालको रुपमा संचालन गर्ने घोषणा गरेका थिए । सांसद चौधरीको सचिवालयका अनुसार धुलिखेल अस्पतालको टीमले चौपत्ता अस्पतालको भौतिक अवस्थादेखि अन्य पूर्वाधारका विषयमा अवलोकन गर्नेछ । धुलिखेल अस्पतालको आउटरिच सेन्टरका रुपमा सञ्चालन भए चौपत्तामा भर्ना हुने विरामीलाई उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराइनेछ भने त्यहाँ उपचार हुन नसकेका विरामीहरूलाई धुलिखेल अस्पतालमा उपचार गरिनेछ ।

सांसद चौधरीकै पहलमा बर्दघाटमा रहेको चिसापानी अस्पतालको काँचुली फेरेको छ भने बर्दघाटमै ट्रमा सेन्टर निर्माण कार्य भइरहेको छ । काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टर बर्दघाटमा बन्न लागेको हो ।