संघीय संसदको बजेट अधिवेशन वैशाख १२ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

संघीय संसदको बजेट अधिवेशन वैशाख १२ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस



काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि समेत अधिवेशन आह्वान गर्न सिफारिस गरिएको उनको भनाइ छ ।

सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने उनको भनाइ छ । शिक्षकहरुले विद्यालय शिक्षा ऐन माग गरिरहेको बेला सरकारले यस्तो निर्णय गरेको हो ।

बैठकले यसअघि भएका सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै आन्दोलन छाडेर विद्यालयमा फर्कन शिक्षकहरूलाई आह्वान पनि गरेको छ ।

नेपाल शिक्षक महासङ्घले उठाएका मागको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील तथा गम्भीर रहेको उनले जानकारी दिइन् ।

महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको मन्त्री भट्टराईको भनाइ छ ।

विद्यार्थी भर्नाको समय तथा एसईईको उत्तरपुुस्तिका परीक्षण एवम् कक्षा १२ को राष्ट्रिय परीक्षाको समय भएकाले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवम् विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकलाई आ–आफ्नो कार्यथलोमा फर्किन मन्त्रिपरिषद्को बैठकले अनुरोध गरेको छ ।