बजेट अधिवेशनमा शिक्षा विधेयक टुंग्याउन असम्भव : सभामुख घिमिरे

बजेट अधिवेशनमा शिक्षा विधेयक टुंग्याउन असम्भव : सभामुख घिमिरे



काठमाडौं । सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा शिक्षकहरुका माग सम्बोधन गर्न सम्भव नरहेको बताएका छन् ।

वुधबार झापामा न्युज एजेन्सी नेपालका प्रतिनिधिसँगको कुराकानीका क्रममा सभामुख घिमिरेले बजेट अधिवेशनमा बजेट सम्बन्धी विषयहरु नै बढी प्राथमिकता दिनुपर्ने भएकाले शिक्षकहरुका माग सम्बोधन गर्नसक्ने अवस्था नरहेको बताएका हुन् ।

‘अब आह्वान गर्ने अधिवेशनले पनि शिक्षा विधेयकलाई तुरुन्तै एक नम्बरको बुँदामा राखेर टुङ्ग्याएर अर्को विषयमा जानु सम्भव छैन । किनभने बजेट अधिवेशनले बजेटसँग सम्बन्धित विषयलाई नै प्राथमिकता दिनुपर्छ,’ उनले भने ।

त्यसकारण बर्खे अधिवेशनमा शिक्षा विधेयकलाई एक नम्बरको बुँदामा राखि टुङ्ग्याएर अर्को विषयमा जान सम्भव नरहेको सभामुख घिमिरेले बताए ।

‘बजेट जेठ १४ गते भित्रमा प्रस्तुत भइसक्नुपर्छ र असार मसान्तसम्ममा पारित भइसक्नुपर्छ । कानुनी प्रक्रियाको सीमाभित्रै बसेर काम गर्नुपर्ने बाध्यता हुन्छ,’ उनले भने ।

यद्यपि शिक्षा विधेयकलाई समेत ध्यानमा राखेर बजेट अधिवेशन केही छिटो बोलाइएको उनले बताए ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा टुंगिने बताएर शिक्षकहरूलाई आन्दोलन फिर्ता गरी कक्षाकोठामा फर्किन आग्रह गरेको छ ।

शिक्षक महासंघले शिक्षकहरूको मागप्रति सरकार अनुदार भएकाले आन्दोलन निरन्तर जारी राख्नुको विकल्प नरहेको बताएको छ । शिक्षकहरूले २०८० असोजमा भएको सहमति कार्यान्वयनको माग गर्दै काठमाडौंकेन्द्रीत आन्दोलन जारी राखेको छ ।

शिक्षकहरूको माग सम्बोधनको विषयमा छलफल गर्न कांग्रेस-एमालेको दुईदलीय संयन्त्रको बैठक पनि बुधबार साँझ ५ बजे बस्दैछ ।