रुपन्देही । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको घरमा आगो लगाएर, मान्छे जलाएर अराजकता मच्चाउनेहरुले राजतन्त्रको सपना नदेख्न चेतावनी दिएका छन् ।
माओवादीले हुलाकी राजमार्गमा संचालन गरेको तराई मधेस अभियानका क्रममा आज पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आयोजित जनसभामा बोल्दै उनले गणतन्त्रवादीहरुले शान्तिपूर्ण प्रदर्शन गरेकै दिन अराजकतावादीहरुले गरेको वितण्डाले उनीहरु कसको लागि के गरिरहेका छन् भन्ने प्रष्ट भएको जनाएका छन् ।
‘नेपाली जनताको अभिमतले नेपालमा गणतन्त्र आएको हो, यो कसैले दान दिएको विषय होइन बलिदानबाट आएको हो तर केही अराजकतावादीहरुले अहिलेको व्यवस्थालाई चुनौती दिँदै आएका छन्, त्यसैको कारण हामीले चलाएको अभियान रोकेर काठमाण्र्डौमा खबरदारी गरेर फर्केका हौं’ उनले भने ‘हामी अभियानमा रहेकैबेला राजावादीले वितण्डा मच्चाए, यो बीचमा हाम्रो अभियान केही ढिलाई भयो तर यसलाई निरन्तरता दिएका छौं, काठमाडाैंमा पनि खबरदारी गरियो, हाम्रो प्रदर्शनलाई विथोल्न राजावादीले अराजकता प्रदर्शन गरेका हुन् । जनताको घरघरमा आगो लगाएर, मान्छेलाई थुनेर आगो लगाएर क्रान्तिको हल्ला गरियो तर त्यो अराजकताले उनीहरुको उद्देश्य प्रष्ट भएको छ ।’
प्रचण्डले शहीद र बेपत्ता परिवारका सदस्यहरूको समस्यालाई अनदेखा नगर्न सरकारसँग आग्रह गरेका छन् । ‘शहीद र बेपत्ता परिवारका सदस्यहरूलाई अनदेखा नगर्नुहोला । उहाँहरूको आँशु, पीडालाई बेवास्ता नगर्नुहोला, पाप लाग्छ । हुन त पाप र धर्म हाम्रो अर्कै बुझाइ हुन्छ । तर पनि शहीद र बेपत्ता परिवारको आँशु लाग्छ,’ प्रचण्डले भनेका छन् ।
साथै, उनले आफ्नो पार्टीले गरेको अभियानमा हजारौं जनसमुदाय जोडिएको उल्लेख गर्दै यो अभियानसँगै बेपत्ता परिवारको पीडा पनि जोडिएको बताए ।
‘हजारौं र लाखौं जनसमुदाय जोडिनुभएको छ । सबै शहीद बेपत्ता परिवारका पीडाहरू पनि जोडिएका छन्,’ प्रचण्डले भने, ‘मैले त त्यो कुरा बुझेर आत्मसमीक्षासहित एकचोटी फेरि ७० पार हुँदा पनि २५ को जवान जसरी दौडिएको छु, देश र जनताको निम्ति । तपाईंहरू पनि दौडिनुहोला ।’
प्रतिक्रिया