सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । रवि लामिछाने पछिल्लो पल्ट पार्टीमा फर्किएकै दिनमा उनले राजीनामा बुझाएको बताइउको छ ।

श्रेष्ठले आफूले केन्द्रीय समितिको बैठकमा नै आफ्ना कुरा राख्ने बताउँदै अहिले राजीनामाका सम्बन्धमा कुनै धारणा सार्वजनिक गरेकी छैनन् ।

रास्वपाले केन्द्रीय समिति बैठक आजका लागि बोलाएको छ । लामिछाने सहकारी प्रकरणमा मुछिएपछि रास्वपाभित्र तीव्र विवाद चुलिएको छ । स्रोतले दिएको जानकारीअनुसार एक व्यक्ति एक पदको नीति पार्टीमा माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने धारणा उनको रहेको छ ।

आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने उनको धारणा रहेको छ ।

उनको राजीनामा केन्द्रीय समिति बैठकमा छलफलका लागि पेश हुनेछ ।