प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने हुँदैन : कांग्रेस

प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने हुँदैन : कांग्रेस



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने नहुने बताएको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले प्रचण्ड प्रतिपक्षमा भएकाले सरकार ढल्दैछ भन्नु स्वभाविक भएको बताए ।

महतले भने, ‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो । उहाँले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’

साथै, उनले गठबन्धन सरकार भन्नासाथ सबै एउटैको मात्रै निर्णय लागू नहुने बताउँदै समन्वय आवश्यक भएको बताए । ‘गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलको सबै थोक हुँदैन । समन्वयको आवश्यकता छ । सबैको कुरा समेट्नपर्ने आवश्यकता छ । नियुक्तिका कुरामा पनि सन्तुलनको आवश्यकता छ । डेलिभरी गर्नुपर्छ भन्ने कुरामा हामी अडिग छौं,’ महतले भने ।

प्रचण्डले केहिदिनअघि ओली सरकार ढाल्न कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको बताएका थिए ।