सरकारको पक्षमा बोल्न महामन्त्रीद्वयलाई देउवाको निर्देशन

सरकारको पक्षमा बोल्न महामन्त्रीद्वयलाई देउवाको निर्देशन



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको पक्षमा बोल्न महामन्त्रीद्वयलाई निर्देशन दिएका छन् ।

बिहिबार आफ्नै निवास बुढानीलकण्ठमा आयोजित बैठकमा सरकारको विरोध गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सरकारको पक्षमा बोल्न देउवाले निर्देशन दिएका हुन् ।

बैठकमा प्रमुख सचेतक श्यामकुमार घिमिरेले महामन्त्रीहरूले सरकारको विरोध गर्दा कसको पक्षमा बोल्ने भन्ने द्विविधाप्रकट भएको भन्दै प्रश्न गरेका थिए ।

त्यसपछि देउवाले सरकारको पक्षमा बोल्न महामन्त्रीहरूलाई निर्देशन दिएका हुन् । ‘अहिले दायाँबायाँ केही पनि छैन । सरकारको पक्षमा बोल्ने हो नि । असन्तुष्टि पार्टीभित्र र संयन्त्रमा राखौँ बाहिर सरकारको पक्षमा बोल्ने हो,’ देउवाले भने ।

महामन्त्रीद्वयले गरिरहेको विरोधबारे प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बुधबार बसेको सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले सरकारकोविरूद्धमा संयन्त्रमै रहेका व्यक्तिको विरोध उचित नभएको भन्दै सचेत गराउन देउवालाई आग्रह समेत गरेका थिए ।

महामन्त्री थापाले बुधबार मात्रै सरकारको काम प्रशंसा र प्रचारयोग्य हुननसकेको टिप्पणी गरेका थिए भने शर्माले सरकारको आलोचना गर्नुपर्ने ७ बुँदे कारण सार्वजनिक गरेका थिए । दुवै महामन्त्रीले आफूहरू सत्ता बदल्ने नभएर सरकारको कार्यशैली बदल्ने अभियान रहेको बताएका थिए ।

बैठकमा देउवाले गठबन्धनमा कुनै पनि समस्या नरहेको र २०८४ सम्मै यसलाई बलियो बनाउने आपसी सहमति रहेको बताएका थिए ।