वैशाख ७ गते राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

वैशाख ७ गते राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबारको कार्यसम्पदान समितिको बैठकको निर्णय सुनाउँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधित क्षेत्रमा प्रदर्शन गरिने बताए ।

उनले भने, “वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । ९ गते ७७ जिल्लामा विरोधसभा, धर्ना, प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।”

उनले सरकारले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार संकुचित गरेको आरोप लगाउँदै उनले भने, “यहाँ गर्नू, यहाँ नगर्नू भनेर निषेधित क्षेत्र तोक्दै मौलिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ । त्यसको विरुद्ध निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने निर्णय गरेका हौँ ।”

बैठकले उपत्यकामा वडा तहसम्म पुग्ने र संगठनलाई मजबुत बनाउने निर्णय गरेको छ । चैत १५ गते तीनकुने घटनामा पक्राउ परेका पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणासहितलाई रिहाइ गर्न माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै आन्दोलनसँग सम्बन्धित कार्यक्रमलाई व्यवस्थित बनाउन विशेष कमिटी बनाउने निर्णय समेत गरेको लिङ्देनले बताए ।