गण्डकी र काठमाडौं केपी ओली कप क्रिकेटको फाइनलमा

गण्डकी र काठमाडौं केपी ओली कप क्रिकेटको फाइनलमा



पोखरा । पोखराको रंगशालामा जारी केपी ओली कप टी२० पुरुष राष्ट्रिय क्लब स्तरीय क्रिकेट प्रतियोगिता अन्तिम चरणमा पुगेको छ । गण्डकी हिरोज र सिइसी काठमाडौंले सेमीफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएका छन् ।

बिहीबार सम्पन्न सेमीफाइनल खेलहरूमा वर्षाले केही अवरोध गरे पनि दुवै टिमले आफ्नो कौशलका साथ फाइनलको टिकट काटे ।

पहिलो सेमीफाइनलमा सिइसी काठमाडौंले हिमाल फ्रेन्ड्स क्रिकेट एकेडेमीविरुद्ध ५ ओभरको छोटो खेलमा १० रनको रोमाञ्चक जित हासिल गर्‍यो । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ५ ओभरमा १ विकेट रिटायर्ड आउट हुँदै ५७ रन बनायो । ओपनर रित गौतमले २८ रन, अर्जुन घर्तीले १३ रन जोडे भने दिपेन्द्र रावत ८ रनमा नटआउट रहे ।

जवाफी ब्याटिङमा उत्रिएको हिमाल फ्रेन्ड्सले ५ ओभरमा ३ विकेट गुमाउँदै ४७ रन मात्र बनाउन सक्यो । सुवोध ऐरी र आसिष तिरुवाले १३/१३ रन जोडे ।

यो जितसँगै काठमाडौंले फाइनलमा आफ्नो स्थान पक्का गर्‍यो ।

दोस्रो सेमीफाइनलमा गण्डकी हिरोज र अत्तरिया क्रिकेट एकेडेमीबीचको खेल वर्षाले प्रभावित भए पनि नाटकीय रूपमा समाप्त भयो । टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले १३.३ ओभरमा ४ विकेट गुमाउँदै १४६ रनको बलियो स्कोर बनायो । ओपनर विपिन रावलले ७२ रनको विस्फोटक पारी खेल्दै टिमलाई बलियो अवस्थामा पुर्‍याए । अभिषेक पलले १९ रन, खगेन्द्र जोशीले २० रन बनाए । टेक रावत ११ रनमा नटआउट रहे । गण्डकीका मिलन बोहोराले ३.३ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए भने नारायण जोशीले १ विकेट हात पारे ।

तर, अत्तरियाको बलियो स्कोरका बावजुद खेल वर्षाले रोकियो । खेल पुनः सुचारु गर्न सम्भव नभएपछि आयोजकले टसको आधारमा निर्णय गरे, जसमा गण्डकी हिरोज भाग्यशाली सावित भयो । यो नतिजाले अत्तरियाका समर्थकहरू निराश भए पनि गण्डकीले फाइनलमा काठमाडौंसँग भिड्ने अवसर प्राप्त गर्‍यो ।