वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहानदेखि हटाएकाे छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्ति सुरक्षाको अवस्था सामान्य बनेको भन्दै आज बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको थियाे ।
‘स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ,’ जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ।
जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेकाले गएको वैशाख १ गतेदेखि लगाइएको निषेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गत शनिबार हनुमान् जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा कर्फ्यू आदेश जारी गरेको थियो ।
पछि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको थियो ।
प्रतिक्रिया