शिक्षक आन्दोलन १९ औं दिन : आज बिहान ९ देखि १२ बजेसम्म प्रदर्शन गर्ने

शिक्षक आन्दोलन १९ औं दिन : आज बिहान ९ देखि १२ बजेसम्म प्रदर्शन गर्ने

संस्थागत विद्यालयसमेत बन्द गर्न महासङ्घको आग्रह



काठमाडौं । शिक्षकहरुको आन्दोलन आज १९ औं दिन पुगेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गएको चैत २० गतेदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुटाछुटै छलफल गरे पनि कुनै निस्कर्ष निस्केको छैन ।

तत्कालै शिक्षा ऐन जारी हुनेमा आश्वस्त हुन नसकेपछि उनीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । शिक्षकको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा यातायात सेवा प्रभावित हुँदै आएको छ ।

शिक्षकहरुले आज बिहान नौ बजेदेखि दिउँसो १२ बजेसम्म प्रदर्शन गर्ने बताएका छन् । यसले कार्यालय समयमा अझै धेरै समस्या हुने देखिएको छ । आज अर्को पनि प्रदर्शन भएका कारण सारिएको शिक्षक महासङ्घले जनाएको छ । यसअघि शिक्षकहरुले दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रर्दशन गर्दै आएका थिए ।

यसैबीच नेपाल शिक्षक महासङ्घले आन्दोलन अवधिभर संस्थागत विद्यालय समेत बन्द गर्न आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै महासङ्घले शैक्षिक सडक आन्दोलन उत्कर्षमा पुगेकोले सबैलाई आन्दोलनमा अनिवार्य उपस्थित हुन समेत आग्रह गरेको छ । ‘शैक्षिक आम हडतालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरू समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरूमा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले भनेको छ–’विगतका सबै सहमति सम्बोधन गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्न राज्यलाई बाध्य पार्न नेपाल शिक्षक महासङ्घको आयोजनामा हुँदै गरेको काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन उत्कर्षमा छ । यस्तो बेला यो आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा जुट्नु अनिवार्य हुन्छ । त्यसैले देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौँ आउनुहुन सबै शिक्षक-कर्मचारी साथीहरूमा पुनः अनुरोध गर्दछौँ ।’

आन्दोलन अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन पनि महासङ्घले आग्रह गरेको छ । आउँदै गरेको कक्षा १२ को परीक्षामा संलग्न नहुन समेत महासंघको आग्रह छ ।