काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रणमा परेका छन् । उनलाई प्रहरीले सिहदरबारबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नुअघि पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि उनीहरू बाहिर निस्किएर सिंहदरबारबाहिर निस्कन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
अन्य नेताहरू भने प्रदर्शन गरिरहेका छन् । लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेका थिए । सो क्रममा प्रहरीले पर्चा र पम्लेटहरू पनि खोसेको थियो ।
अध्यक्ष लिङ्देनले सरकारले लोकतान्त्रिक अधिकार खुम्च्याउन खोजेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘बोल्न पाउने, लेख्न पाउने र प्रदर्शन गर्न पाउने अधिकार खुम्च्याउन खोजियो त्यसैले सरकारको नजिकै प्रतिकात्मक प्रदर्शन गरेका हौँ ।’
राप्रपाले तीनकुनेमा भएको घटनाको न्यायिक छानबिन आयोग गठन र आफ्ना नेताहरूको रिहाइ गर्न माग गरेको छ । सिंहदारबाट बाहिरिँदै लिङ्देनले भनेका छन्, ‘हाम्रा निर्दोष नेताहरूलाई रिहाइ गर्न माग गरेका छौँ ।’
पक्राउ पर्नेमा उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले सिंहदरबारमै राखेको छ ।
राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो ।
प्रतिक्रिया