काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार प्रदर्शनमा पक्राउ पर्नेकाे संख्या सात पुगेको छ ।
अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कटवाल गरी सात जनालाई नियन्त्रणमा लिइएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
नियन्त्रणमा लिइएकाहरू सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।
राप्रपाले प्रहरीलाई झुक्याएर निषेधित क्षेत्र भनिएको सिंहदरबारभित्र प्रदर्शन गरेपछि सात जनालाई नियन्त्रणमा लिइएको हाे ।
तीनकुने घटनाको न्यायिक छानबिन गर्न भन्दै राप्राका कार्यकर्ताहरू माइतीघर-नयाँ बानेश्वर सडकमा प्रदर्शन गरिरहँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न भनेर पुगेका थिए ।
त्यसलगत्तै सडकमा आन्दोलनमा सहभागिताका लागि निक्लिन खोज्दा अध्यक्ष लिङ्गदेन, ज्ञानेन्द्र शाही, दीपक सिंहलगायतका नेता तथा सांसदहरूलाई सिंहदरबारभित्रै प्रहरीले रोक्ने प्रयास गरेको थियो । प्रहरीले रोक्ने प्रयास गरेपछि उनीहरूले निषेधित क्षेत्र मानिएको सिंहदरबारभित्रै प्रदर्शन गरेका हुन् ।
आफ्ना नेताहरू पक्राउ परेपछि राप्रपाका नेता तथा कार्यकर्ताहरूले माइतीघरमा नारीबाजी गर्दै तत्काल रिहाइ गर्न माग गरेका थिए ।
नेताहरु पक्राउपछि राप्रपाको आकस्मिक बैठक बस्न लागेको छ । पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक वैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया